सवारी दुर्घटनामा मोरङमा दुई जनाको मृत्यु



विराटनगर : मोरङको दुई छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको ।मोरङको सुन्दरहरैँचा नगरपालिका–९ चाँदनी र उर्लाबारी नगरपालिका–८ स्थित इटहरा–उर्लाबारी सडक खण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

चाँदनी पेट्रोलपम्प अगाडि शनिबा राति ९ः३० बजेतिर स्कुटर र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ३८ प १६६५ नम्बरको स्कुटर र विपरित दिशातर्फ जाँदै गरेको को २ त ३१९६ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि स्कुटर चालक सुन्दरहरैँचा–९ का ४२ वर्षीय मकेश्वर चौधरीको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डीएसपी सुमन तिमल्सिनाले जानकारी दिए । ट्याक्टर चालक फरार रहेका कारण खोजी भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै इटहरा–उर्लाबारी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ गइरहेको मे ४ प ९२८५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । डीएसपी तिमल्सिनाका अनुसार दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा ज्यान गएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक उर्लाबारी–८ का ३० वर्षीय उपेन्द्र दनुवार गम्भीर घाइते भएका छन् । टाउकोमा चोट लागेका उनको उर्लाबारीमै उपचार भइरहेको तिमल्सिनाले बताए ।

प्रकाशित : मंसिर १४, २०७७

प्रतिक्रिया दिनुहोस्