काठमाडौं आइपुगे चिनियाँ रक्षामन्त्री फेङ्ही



काठमाडौं : २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चिनियाँ रक्षामन्त्री वेई फेङ्ही काठमाडौं आइपुगेका छन् । रक्षामन्त्री फेङ्ही केहीबेर अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

उनी विमानस्थलबाट सीधै बालुटारस्थित चिनियाँ दूतावासमा जाने र केहीबेर आराम गरेपछि उनी औपचारिक भेटवार्ताका लागि निस्किने छन् ।

सबैभन्दा पहिले उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने कार्यक्रम छ । उनी दिउँसो दुई बजे जंगीअड्डा पुग्ने छन् ।

सबैभन्दा पहिले जंगीअड्डामा नेपाली सेनाको टोलीले चिनियाँ रक्षामन्त्री फेङ्हीलाई सम्मानगारथ अर्पण गर्ने छ । त्यसपछि उनले प्रधानसेनापति थापालाई शिष्टाचार कल (अफिस कल) गर्ने छन् ।
त्यसपछि चिनियाँ टोली र प्रधानसेनापति थापासहितको नेपाली सेनाको टोलीबीच द्विपक्षीय छलफल हुने छ ।

जंगीअड्डापछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्ने छन् । बालुवाटारपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने छन् ।

राष्ट्रपतिलाई भेटेपछि उनी सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्ने कार्यक्रम छ ।उनी आइतबार नै काठमाडौंबाट बंगलादेश जाने कार्यक्रम तय भएको छ ।

प्रकाशित : मंसिर १४, २०७७

प्रतिक्रिया दिनुहोस्