भारतीय विदेशसचिव फर्केलगतै किन आए चिनियाँ मन्त्री ?



काठमाडौं : दुईदिने नेपाल भ्रमण सकेर भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला स्वदेश फर्किएलगत्तै चिनियाँ रक्षामन्त्री वे फङ्ख नेपाल आएका छन्।

उत्तरी र दक्षिणी छिमेकी मुलुकको तर्फबाट नेपालमा लगालग भइरहेका उच्चस्तरीय भ्रमणलाई विश्लेषकहरूले अर्थपूर्ण रूपमा हेरेका छन्। नयाँ नक्सालाई लिएर दुई देशबीच उत्पन्न तिक्तताबीच हालै भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्तकुमार गोयलले गरेको भ्रमणले नेपालमा तरङ्ग ल्याइदिएको थियो।

त्यसको केही समयपछि भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपालको औपचारिक भ्रमण गरेका थिए। आइतबार चिनियाँ रक्षामन्त्री नेपाल आएका हुन्। नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौड्यालका अनुसार गत वर्ष नै तात्कालिक रक्षामन्त्री ईश्वर पोखरेलले आफ्ना चिनियाँ समकक्षीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका थिए। अहिले रक्षा मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली आफैँले राखेका छन्।

चिनियाँ रक्षामन्त्रीको भ्रमण किन महत्त्वपूर्ण ?
चिनियाँ अधिकारीहरू ‘ठोस उद्देश्य र प्रयोजनविना नआउने’ भएकाले चिनियाँ रक्षामन्त्री वेको यो भ्रमण महत्त्वपूर्ण भएको सुरक्षा मामिला विश्लेषक इन्द्र अधिकारी बताउँछिन्। ‘कुनै देशका मन्त्रीले अर्को देशका समकक्षीलाई बोलाउने कूटनीतिक अभ्यास हो। तर आउने कुरा उनीहरूले आफ्नो आवश्यकता हेरर निर्णय गर्छन्,’विश्लेषक अधिकारी भन्छिन्।

परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ रक्षामन्त्री वेले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि उनले भेटवार्ता गर्ने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विश्लेषक अधिकारीका अनुसार तीनवटा कुराले चिनियाँ रक्षामन्त्री वेको भ्रमण अर्थपूर्ण हुनसक्छ।

१. राजनीतिक
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व पङ्क्तिमा बेलाबेला उत्पन्न हुने विवाद मिलाउने प्रयासमा नेपालका लागि चिनियाँ राजदूतको सक्रियता देखिने गरेको विश्लेषकहरू बताउँछन्। ‘नेकपा एकताबद्ध हुनुपर्छ र जसरी दुई पार्टी एक भए त्यो प्रक्रियाले पूर्णता पाउनुपर्छ भन्ने कुरामा चीनले सहयोग गर्न चाहन्छ। जुन हामीले खुला रूपमा देख्दै आएका छौँ,’ विश्लेषक अधिकारी भन्छिन्–‘रक्षामन्त्री वे चिनियाँ राष्ट्रपतिका एक विश्वासपात्र भएकोले पनि अहिलेको समग्रमा अवस्थामा चीनले केही सहयोग गर्न सक्छ कि, एकतालाई बचाउन सक्छ कि भन्ने भ्रमणको एउटा उद्देश्य हुनसक्छ।’

२. रणनीतिक
चिनियाँ रक्षामन्त्रीको भ्रमणको राजनीतिकसँगै रणनीतिक पनि महत्त्व रहेको उनी बताउँछिन्। रक्षामन्त्री वे एकसाथ दक्षिण एशियाका पाकिस्तान, नेपाल र बाङ्ग्लादेशको भ्रमणमा निस्केका छन्। विश्लेषक अधिकारी भन्छिन्, ‘चीन नजिक भएर पनि अहिलेसम्मको अवस्था हेर्दा दक्षिण एशियाली मुलुकहरूमाथि भारतकै बढी प्रभाव देखिन्छ। पछिल्लो समय चीनले पनि आफ्नो प्रभाव बढाउँदै लगेको छ र बढाउन चाहन्छ।’ नेपालपछि चिनियाँ रक्षामन्त्री बाङ्ग्लादेश जाँदैछन्। यसको अर्थ के हो भने दक्षिण एशियामा रहेको आफ्नो प्रभावलाई उसले निरन्तरता दिन र नरहेको हकमा थप्न चाहन्छ। त्यसमध्ये रणनीतिक रूपमा हामी झन् महत्त्वपूर्ण छौँ भन्ने देखिन्छ।

३. आर्थिक
अमेरिकासँग भएको बृहत् अनुदान सम्झौता मिलेनीअम च्यालेन्ज सम्झौता (एमसीसी) लाई नेपालको संसद्‌ले अझै अनुमोदन गरिसकेको छैन। यसबीच चीनले पनि आफ्नो महत्त्वाकाङ्क्षी परियोजना बेल्ट एन्ड रोड इनिशिएटिभ (बीआरआई) लाई महत्त्वका साथ अगाडि बढाउने चाहिरहेको देखिन्छ।

सन् २०१३ देखि नै चर्चा चल्दै आए पनि नेपालले आधिकारिक रूपमा बीआरआईमा सन् २०१७ को मे १२ तारिखमा मात्रै जोडिएको थियो।एमसीसी र बीआरआई दुवैको हकमा राष्ट्रिय स्वाधिनता र सार्वभौसत्ताका कुराहरू उठिरहेका छन्।

‘यो हिसाबले कतै न कतै चीनले आर्थिक परियोजनाहरू अथवा विगतमा भएका सम्झौताप्रति हामी प्रतिबद्ध छौँ, त्यसमा चासो राखिरहेका छौँ, त्यसमा के कमजोरी भयो बुझ्न चाहन्छौँ भन्ने सन्देश दिन चाहेको हुनसक्छ,’सुरक्षा मामिलाका विश्लेषक अधिकारीले थपिन्। यीबाहेक नेपाली सेनालाई चीनले गर्ने अथवा भविष्यमा गर्न सक्ने सहयोगको विषय पनि चिनियाँ रक्षामन्त्री वेको भ्रमणमा समेटिन सक्ने उनको बुझाइ छ।(बीबीसी)

प्रतिक्रिया दिनुहोस्