अफगानिस्तानको सैनिक शिविरमा आक्रमण : २६ जनाको मृत्यु, १७ जना गम्भीर



घाज्नी : अफगानिस्तानमा कार बम आक्रमण हुँदा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ । अफगानिस्तानाको घाज्नी प्रान्तमा आइतबार सैनिक शिविरमा भएको कार बम आक्रमणमा २६ जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने १७ जना गम्भीर घाइते भएका छन् ।

यस किसिमको यो सबैभन्दा घातक आक्रमण हो । पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी यति भिषण आक्रमण गरिएका थिएनन् ।

घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातले गम्भीर घाइते भएको अवस्थामा १७ जनालाई सैनिक अस्पतालमा ल्याइएको जानकारी दिए । उनले मृतक एवं घाइतेहरु सबै सैनिक रहेको बताए ।

घाज्नी प्रान्तीय परिषदका एक सदस्य नासिर अहमद फकिरीले पनि आक्रमणबाट भएको क्षति पुष्टि गरे ।

अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक अरियनले घाज्नीमा एक व्यक्तिले विस्फोटक पदार्थले भरिएको सवारी साधन सैनिक शिविरभित्र विस्फोट गराएको जानकारी दिए । तर, उनले के कति सैनिकको मृत्यु भयो भन्ने बारेमा केही बताउन चाहेनन् । उक्त आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन ।

प्रकाशित : मंसिर १४, २०७७

प्रतिक्रिया दिनुहोस्