उत्तर कोरियाली दूतावासमा किन पसे अमेरिकी पूर्व सैनिक ?



मड्रिड :  स्पेनको राजधानी मड्रिडस्थित उत्तर कोरियाली दूतावासमा यही फेब्रुअरी महिनामा छापा मारेको अभियोगमा एक पूर्वअमेरिकी सैनिक पक्राउ परेका छन् ।

उनलाई बिहीबार पक्राउ गरी शुक्रबार क्यालिफोर्निया राज्यको लस एन्जल्स शहरमा रहेको संघीय अदालतमा उपस्थित गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पक्राउ पर्नेमा अमेरिकी सेनाको मरिनका पूर्व सैनिक क्रिष्टोफर एन रहेका छन् । 

गत फेब्रुअरीमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको राजधानी हनोईमा भएको शिखर वार्ताअघि आफूलाई उत्तर कोरियामा मानवअधिकार प्रवर्द्धन गर्ने समूह बताउने चेयोलिमा सिभिल डिफेन्स समूहले मड्रिडमा छापा मारी त्यहाँका विद्युतीय उपकरण लगेका थिए ।

उनीहरुले ती उपकरण अमेरिकी संघीय अनुसन्धान व्यूरो एफबीआईसमक्ष बुझाएको जनाएका थिए । उनी पक्राउ पर्ने बेला पनि अमेरिकी अधिकारीले यही समूहका अर्का नेता एड्रियन हङ्गको आवासमा अमेरिकी प्रहरीले छापा मारेको थियो । उनको आवासमा छापा मार्ने समयमा हङ्ग नरहेको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

फेब्रुअरी २२ मा १० जनाको समूहले दूतावासमा छापा मारेको घटनालाई उत्तर कोरियाली विदेशमन्त्रालयले आतंककारी शैलीको संज्ञा दिएको थियो । यो घटनामा अमेरिकी संघीय अनुसन्धान व्यूरो एफबीआईको हात रहेको उसले दाबी गरेको थियो । 

यसअघि स्पेनी अधिकारीले उत्तर कोरियाली राजदूतावासमा छापा मार्ने समूह भागेर अमेरिका पुगेको भन्दै उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेका थिए । स्पेनको एक अदालतले उनीहरुलाई स्पेनमा सुपुर्दगी गर्न आदेश दिएको छ । पक्राउ परेका पूर्वसैनिकलाई अमेरिकी अदालतले स्पेनमा सुपुर्दगी गर्न आदेश दिने नदिने टुंगिएको छैन।  एजेन्सी

प्रतिक्रिया दिनुहोस्