प्रधानमन्त्री ओलीले भने- ‘नेपालको भूभाग चीनविरुद्ध प्रयोग हुन दिन्‍नौं’



काठमाडौँ : प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले नेपालका भूभाग चीनका विरुद्धमा प्रयोग हुन नदिने बताएका छन् । चिनियाँ स्टेट काउन्सिलर तथा रक्षा मन्त्री वेई फेङहेसँग आइतबार साँझ बालुवाटारमा शिष्टाचार भेटवार्ता गर्दै नेपाल एक चीन नीतिमा कटिबद्ध रहँदै आएको र त्यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल–चीन बीचका कुनै पनि समस्या नरहेको र घनिष्ठ मित्र रहेको बताएका थिए । ‘हाम्रो बीचमा समस्यारहित सम्बन्ध छ,’ ओलीलाई उदृत गर्दै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले कान्तिपुरसँग भने । ओलीले नेपाल एक चीन नीतिको पक्षमा रहँदै आएको पनि चिनियाँ रक्षामन्त्री वेईलाई प्रस्ट पारे । ओलीले पछिल्लो समय चीन र नेपाल बीचको सम्बन्ध थप उचाई लिएको पनि बताए । ओलीले आफ्नो सन् २०१६ र २०१८ को चीन भ्रमण र त्यस बेला भएका यातायात तथा पारवहन सम्झौताहरु ऐतिहासिक रहेको उल्लेख गरेका थिए ।

ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो चीन भ्रमण र गत वर्षको अक्टोबरमा चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले पनि दुई मुलुक बीचमा विभिन्न सहमति भएको जनाए ।

भट्टराईका अनुसार ओलीले खासगरी कनेक्टिभिटीका सवालमा भएका सहमतिहरु कार्यान्वयन लाने बाटो नेपाल रहेको बताएका थिए । ओलीले नेपालको आर्थिक विकासमा चीनले सहयोग गरिरहेको छ र नेपालका लागि चीनको सहयोग अपरिहार्य पनि रहेको बताएका थिए । ओलीले खासगरी कोभिड–१९ नियन्त्रण सफलतापूर्वक सम्पन्न गरेको र नेपाललाई चीनले गरेको सहयोगको लागि पनि धन्यवाद दिएका थिए ।

भट्टराईका अनुसार चीनका रक्षामन्त्री वेईले नेपाल र चीन बीचमा ऐतिहासिक सम्बन्ध रहिआएको उल्लेख गर्दै त्यसको निरन्तताका लागि पछिल्लो समय चीन–नेपाल बीच भएका सम्झौताहरुलाई कार्यान्वयनमा लैजान पूर्ण प्रतिबद्ध रहेको बताएका थिए ।

‘हामी नेपालसँगको सम्बन्धलाई महत्व दिन्छौं । नेपालले एक चीन नीति र नेपालको भूभाग चीनविरुद्ध प्रयोग हुन नदिने जुन प्रतिबद्धता गर्दै आएको छ । त्यसको हामी प्रसंसा गछौं,’ वेईलाई उदृत गर्दै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले भने ।

वेईले नेपाली सेनाका प्रधानसेनापतिसँग केही सहमति गरेर आएको र त्यही सहमतिअनुसारै कार्यान्वयन गर्दै जाने पनि ओलीलाई बताएका थिए ।

उनले कोभिडको सन्दर्भमा सहयोगलाई आदान–प्रदान कार्यलाई निरन्तरता दिने पनि बताए । ‘चीनले कोरोना नियन्त्रण गरेको छ, र नेपालले पनि त्यहि गरोस भन्ने हाम्रो चाहना छ,’ वेईले भने । कान्तिपुर दैनिकमा जगदीश्वर पाण्डेले लेखेका छन् ।

प्रकाशित : मंसिर १५, २०७७

प्रतिक्रिया दिनुहोस्