पाँच दिनदेखि वेपत्ता युवकको शव फेला



विराटनगर : सुनसरीको दुहबीमा पाँच दिनदेखि वेपत्ता भएका एक युवकको शव आज (सोमबार) बिहान फेला परेको छ ।

दुहबी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरीको शव सोमबार बिहान करिब ५ बजे दुहबी–२ मा रहेको शुभलक्ष्मी उद्योगको पछाडि रहेको झाडीमा भेटिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

कक्षा ११ मा अध्ययनरत चौधरी यही मंसिर १० गतेबाट वेपत्ता भएका थिए । उनको अपहरण गरि हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

घटना शंकास्पद भएकाले अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । घटनामा संलग्न भएको आशंमा प्रहरीले शंकास्पद केही व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रकाशित : मंसिर १५, २०७७

प्रतिक्रिया दिनुहोस्