कोरोनाका कारण जेलमा दङ्गा : ६ जनाको मृत्यु, ५२ जना घाइते



एजेन्सी : श्रीङ्काको एउटा कारागारमा दङ्गा हुँदा कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

माहारा कारागारमा कोरोनाभाइरसको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवासुविधाको माग गर्दै प्रदर्शन गरेका थिए ।

बन्दी र कारागारमा खटिएका सुरक्षाकर्मीहरूबीच भिडन्त हुँदा त्यति सङ्ख्यामा मृत्यु र ५२ जना घाइते भएको बताइएको छ ।

श्रीलङ्काका जेलहरूमा अहिलेसम्म झन्डै १,००० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

प्रहरी प्रवक्ता अजित रोहनाका अनुसार जेलमा सुरक्षाकर्मीहरूले ‘उच्छृङ्खल अवस्था नियन्त्रणमा लिन बल प्रयोग गरेको’ बताए । सञ्चारमाध्यमहरूका अनुसार दङ्गा फैलिएपछि सुरक्षाकर्मीहरूले गोली हानेका थिए ।

कारागार परिसरमा ‘ठूलो आगलागी’ भएको देखिएको स्थानीयवासीलाई उद्धृत गर्दै समाचार प्रकाशित भएको छ ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरी प्रवक्ता रोहनाले बीबीसीलाई बताए । उनका अनुसार कारागारमा सुरक्षा बढाउन विशेष तालिमप्राप्त कमान्डोहरूको टोली झिकाइएको छ ।

प्रहरीका पाँचवटा टोलीलाई पनि परिचालन गरिएको छ । श्रीलङ्काका जेलमा कोभिड–१९ फैलिरहेका बेला यो घटना भएको हो ।

राजधानी कोलम्बोस्थित बन्दीहरूले वेलिकाडा जेलको छानामा चढेर आफूहरूलाई धरौटीमा छोडियोस् भन्दै प्रदर्शन गरेका छन् ।

बन्दीहरूले आगुनाकोलापालास्सा जेलमा आठ दिनदेखि प्रदर्शन गरिरहेका छन् । आफूलाई राखिएको उक्त कारागार नराम्रो अवस्थामा भएको उनीहरूको दाबी छ ।

मानवाधिकारवादी समूहहरूका अनुसार श्रीलङ्कामा १०,००० बन्दी राख्ने क्षमता भएका जेलहरूमा २६,००० जनालाई राखिएको छ ।

गत महिना श्रीलङ्कामा एउटा गार्मेन्ट उद्योग र एउटा माछा बजारबाट कोरोनाभाइरस सङ्क्रमण फैलिएको पुष्टि भएको थियो ।

जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्याङ्कले श्रीलङ्कामा २३,४८४ जनामा कोभिड(१९ देखिएको र ११६ जनाको मृत्यु भएको देखाउँछ।

प्रकाशित : मंसिर १५, २०७७

प्रतिक्रिया दिनुहोस्