काठमाडौं : चोरी निकासी गर्दै सुन ल्याएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको कोटेश्वरस्थित स्काई ज्वलेर्सका सञ्चालक ३२ वर्षीय कुमार सेन्चुरी र ३२ वर्षीय गंगाबहादुर मगर रहेका हुन् ।
पक्राउ परेका सेञ्चुरी तेह्रथुमको छथर गाउँपालिका-४ र मगर रामेछापको दोरम्बा गाउँपालिका-४ का हुन् । गत शुक्रबार दिउँसो महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले सिनांमगलस्थित गोल्डेन गेटअगाडिबाट गंगाबहादुरलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्ने क्रममा उनको साथबाट नगद ११ लाख ८६ हजार ५ सय फेला परेको थियो ।
थप अनुसन्धानको क्रममा उनले राजश्व छलि गरी ल्याएको सुनका बालाहरू कोटेश्वरस्थित स्काई ज्वलेर्स सञ्चालक कुमारलाई बिक्री गर्ने गरेको भन्ने खुलेको महाशाखाका प्रवक्ता ईश्वर कार्कीले बताए ।
प्रहरीले आइतबार उक्त ज्वेलर्सबाट करिब १४९.९५ ग्राम बराबरको ३ थान सुनको बालासहित कुमारलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।
प्रकाशित :१५ मंसिर, २०७७