धनगढीमा अस्पताललाई भेन्टिलेटर र सुरक्षा सामग्री हस्तान्तरण



धनगढी : सुदुर पश्चिम प्रदेशका मुख्य मन्त्री माननीय त्रिलोचन भट्टले कोभिडको संक्रमण अझ फैलन सक्ने भएकाले थप सजग हुँदै तयारीलाई बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

कोका-कोला र नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को साझेदारी अन्तरर्गत कोभिड-१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, विरामी र स्वयंसेवकहरुको सुरक्षा अभिबृद्धिको लागि सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीको प्राँगणमा सुरक्षा सामग्री तथा उपकरण अस्पताललाई हस्तान्तरण गर्दै बताए ।

सेती प्रदेश अस्पतालका मेडिकल सुपरीटेडेन्ट डा.हेमराज पाण्डेलाई सामग्री हस्तान्तरण गर्दै उनले भने,“रेडक्रसले सरकारको सहयोगीको कार्य गर्दैछ र निश्पक्षतालाई ध्यान दिदै थप सहयोग गर्न रेडक्रस लगायतको सँस्थालाई अनुरोध गर्दछु । ”

आज हस्तान्तरण गरिएका सामग्रीमा १६ लाख ३२ हजार आठसय पचास मूल्यको आइसीयूमा प्रयोग हुने एक भेन्टिलेटरका साथै ६ हजार सर्जिकल मास्क, २५०० जोडी सर्जिकल पन्जा, ५० थान सुरक्षा पोशाक, केएन ९५ मास्क २०० थान र २५ थान सुरक्षा चस्मा वटा रहेका कार्यक्रमको सञ्चालन गर्दै नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । ती सामग्रीहरुको जम्मा मूल्य १८ लाख ५१ हजार एक सय रहेको छ ।

नेरेसोका केन्द्रीय महामन्त्री पिताम्बर अर्याल, केन्द्रीय सदस्य द्धय जीवन राना र उद्धव भट्टराई, विपद् व्यवस्थापन निर्देशक बिपुल न्यौपाने, सञ्चार बिभागका निर्देशक दिब्यराज पौडेल, स्वास्थ्य सेवा बिभागका उप निर्देशक शिवराम गौतम र कोकाकोलाका प्रतिनिधि शुभाष दाहालको समुपस्थितिमा भएको कार्यक्रममा नेरेसो कैलाली शाखाका सभापति उत्तम जोशीले स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रसका केन्द्रीय कार्यालयका कार्यक्रम संगोजक राजु राउत, नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका पदाधिकारी एवं कर्मचारी र अस्पतालका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । यस अघि गत असारमा पहिलो चरणमा मास्क, शुरक्षा बुट, स्यानिटाइजर, क्लोरिन झोल र साबुन अस्पताललाई उपलव्ध गराइएको थियो ।

नेपाल रेडक्रस र कोकाकोला नेपालको यो साझेदारी केन्द्रीय स्तरमा मात्र नभई प्रदेश र जिल्ला तहमा पुग्न पाएकोमा खुशी व्यक्त गर्दै नेपाल रेडक्रसका केन्द्रीय महामन्त्री पिताम्बर अर्यालले भने,”कोरोना सङ्क्रमणको जोखिममा रही अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मीको शुरक्षा र विरामीको सघन उपचारमा मद्दत पुर्याउने यो एउटा प्रयास हो । ”

प्रकाशित :१५ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्