३० जना एचआइभी संक्रमितलाई कोरोना, नियमित औषधि सेवन नगर्नेलाई उच्च जोखिम



काठमाडौं : नेपालमा हालसम्म ३० जना एचआइभी संक्रमितलाई कोरोना संक्रमण भएको पाइएको छ ।

३३ औं विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा हालसम्म ३० जना एचआइभी संक्रमित कोरोनाबाट संक्रमित भएको जानकारी दिएको हो ।

संक्रमित सबै जना हाल उपचारपछि निको भइसकेका छन् । कोरोना महामारीका कारण उनीहरुको उपचार सेवामा कुनै प्रभाव नपरेको केन्द्रकी निर्देशक डा.सुधा देवकोटाले बताएकी छिन् । लकडाउन तथा महामारीको समयमा पनि एचआइभी संक्रमितहरुले खाने औषधि एआरटी घर-घरमा पुर्याउने व्यवस्था गरिएको उनले जानकारी दिइन् ।

‘लकडाउन र महामारीमा एआरटी सेन्टरबाट हामीले एचआइभी संक्रमितले खाने औषधि घर–घरमा पुर्याएका थियौं । उनीहरुले पाउने सेवामा लकडाउनले खासै प्रभाव परेन’ उनले भनिन् । नियमित औषधि सेवन नगर्ने र लुकेर रहेका एचआइभी संक्रमितहरु मात्र कोरोना संक्रमणको उच्च जोखिममा रहेको उनले बताइन् ।

सावधानी अपनाउन आवश्यक रहे पनि नियमित औषधि सेवन गर्ने र निरन्तर चिकित्सकको परामर्शमा रहने एचआइभी संक्रमित कोरोनाबाट डराइहाल्नु नपर्ने उनको भनाइ छ । नेपालमा हाल १७ हजार ५ सय ८७ पुरुष र ११ हजार ९ सय १६ महिला गरी २९ हजार ५ सय ३ जना एचआइभी संक्रमित रहेको केन्द्रको अनुमान छ ।

नेपालमा करिब ८० प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यमबाट सरेको पाइएको छ । सुईद्वारा लागू पदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिंगी यौनकर्मीहरुमा एचआइभी संक्रमणको दर समूहभन्दा उच्च रहेको केन्द्रले जनाएको छ ।

२०७७ सालको असार मसान्तको तथ्यांक अनुसार नेपालको कुल एचआइभी संक्रमितमध्ये १९ हजार ४ सय १० अर्थात् ६६ प्रतिशत मात्र एआरभी उपचारमा छन् । सन् २०१० को तुलनामा सन् २०१९ सम्ममा नेपालमा नयाँ संक्रमण ६४ प्रतिशतले घटेको छ । सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने सरकारको लक्ष्य छ ।

८० वटा एआरटी केन्द्रबाट नि : शुल्क औषधि वितरण भइरहेको केन्द्रले जनाएको छ । यस वर्ष एड्स तथा यौन रोग नियन्त्रणका लागि ५६ करोड ७२ लाख रुपैयाँ बजेट बिनियोजन भएको केन्द्रले जनाएको छ । जसमध्ये औषधि र औषधिजन्य सामग्रीका लागि मात्र ८५ प्रतिशत बजेट खर्च हुने गरेको छ ।

एचआइभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी भन्ने नारासहित भोली (मंगलबार) विश्व एड्स दिवस मनाइँदैछ ।

प्रकाशित :१५ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्