सोमबार मोडेर्नाले कोभिड विरुद्धको खोप प्रयोगका लागि अनुमति लिने



वासिङ्टन : (कोभिड-१९) विरुद्धको खोप विकास गरी अन्तिम चरणको परीक्षण गरिरहेको अमेरिकी औषधि कम्पनी मोडेर्नाले अमेरिका र यूरोपमा खोपको प्रयोगका लागि सोमबार अनुमति माग्ने जनाएको छ ।

कम्पनीले आफूले विकास गरेको (कोभिड-१९) विरुद्धको खोपको क्लिनिकल परीक्षण ९४.१ प्रतिशत प्रभाबकारी पाइएको भन्दै खोपको प्रयोगका लागि अनुमति माग गरेको हो ।

मोडेर्नाले सोमबार नै अमेरिकी खाद्यान्न तथा औषधि प्रशासन (एफडीए)सँग संकटकालीन प्रयोगका लागि स्वीकृती (ईयूए) को माग गर्ने र यसलाई यूरोपेली औषधि उत्पादक तथा वितरक कम्पनीसँग मिलेर सशर्त बजारीकरणका लागि अनुमति पनि माग्ने जनाएको छ ।

गत वर्षको डिसेम्बरमा चीनको वुहान सहरस्थित अस्पतालमा उपचारका क्रममा पहिलो पटक पत्ता लागेको (कोभिड-१९) का कारण एक वर्षको अन्तरालमा विश्वका सबै मुलुकमा महामारीको रूप लिइसकेको छ ।

यद्यपि अमेरिकी राष्ट्रहरू संयुक्त राज्य अमेरिका, ब्राजिल, पेरु, चिली र इटाली, स्पेन, बेलायत, फ्रान्स, जर्मनी, रूसलगायतका यूरोपेली मुलकहरू (कोभिड-१९) का कारण धेरै प्रभावित छन् ।

दक्षिण एशियामा भारत, पाकिस्तान, बङ्गलादेश बढी प्रभावित मुलुकहरू हुन् भने (कोभिड-१९)को संक्रमण अष्ट्रेलिया, अफ्रिकालगायतका विश्वका सबै क्षेत्रमा फैलिएको छ । अमेरिका सबैभन्दा बढी (कोभिड-१९) बाट संक्रमित र मृत्यु भएको मुलुक हो ।

अमेरिकामा (कोभिड-१९) संक्रमित कूल १ करोड ३७ लाख ५१ हजारभन्दा बढी संक्रमित भएका छन् भने २ लाख ७३ हजार संक्रमितको मृत्यु भएको छ । अमेरिकापछि बढी संक्रमण रहेका मुलुकहरू भारत, ब्राजिल, रूस, फ्रान्स, स्पेन, बेलायत, इटली र अर्जेन्टिनालगायत रहेका छन् ।

प्रकाशित :१५ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्