बुटवल : कोरोना विशेष अस्पताल बुटवलमा रुपन्देही र कपिलवस्तुका थप एक–एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।
बुटवल–७ की ५३ वर्षीया महिला र कपिलवस्तुको चन्द्रौटाकी ५० वर्षीया महिलाको मृत्यु भएको हो ।
मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएकी कपिलवस्तुकी महिला मंसिर १५ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारको क्रममा सोमबार राति मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।
यस्तै मंसिर ११ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएकी बुटवलकी महिला मंसिर १३ गते अस्पताल भर्ना भएकी थिइन् । उनको सोमबार दिउँसो मृत्यु भएको डा. गौतमले बताए । उनी मधुमेहको दीर्घ रोगी थिइन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार कोरोना संक्रमितको मृत्यु हुने संख्या रुपन्देहीमा १२१, कपिलवस्तुमा २१ र लुम्बिनी प्रदेशमा २९२ पुगेको छ ।
प्रकाशित : मंसिर १६, २०७७