क्यान निर्वाचित समितिले मुद्दा फिर्ता लिने



काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित समितिले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाउने भएको छ।

 

कानुनी र ब्यवहारिक प्रकृयाबारे छलफल गरी मुद्दा फिर्ता लिने सम्बन्धमा निर्णय गर्न शनिबार काठमाडौंमा बसेको क्यान निर्वाचित समितिको बैठकले मुद्दा फिर्ता लिन प्रकिया बढाउन ५ जना पदाधिकारीलाई जिम्मा दिने निर्णय गरेको हो।

 

जसमा अध्यक्ष चतुरबहादुर चन्द, उपाध्य दिवाकर घले,शैलेस कुमार चौधरी, संजय सिंह र महासचिव असोकनाथ प्याकुरेल छन्। 

 

यसअघि २०७२ मंसिरमा भएको क्यानको निर्वाचनलाई राष्ट्रिय खेलकुद परिषदले मान्यता नदिएपछि क्रिकेट विवाद सुरु भएको थियो। परिषदले निर्वाचित समितिलाई मान्यता नदिएर तदर्थ समिति गठन गरेको थियो। त्यसपछि निर्वाचित समितिले सर्वोच्चमा मुद्दा दायर गरेको थियो। सर्वोच्चले अन्तरिम आदेश दिएपछि तदर्थ समितिले काम गर्न पाएको थिएन।

 

यसबीचमा आन्तरिक विवाद र सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले क्यानलाई ०७३ बैशाखमा निलम्बन गरेको थियो । त्यसपछि आइसिसीले नै नेपाली क्रिकेटको व्यवस्थापन हेर्दै आएको छ।

 

२०७२ मा सर्वोच्चमा दायर मुद्दा भने अहिले पनि विचारधीन छ।  विवाद समाधानका लागि आइसिसीले सल्लाहकार समिति गठन गरेको थियो। सल्लाहकार समितिमा निर्वाचित क्यानसहित सरोकारवाला व्यक्त सदस्य दिए।

 

समितिले क्यानको नयाँ विधान बनाएको थियो। सो विधानलाई निर्वाचित क्यानले परिमार्जित सहित पारित गरेको थियो। तर आइसिसीले हुबहु पारित गर्नु पर्ने भनेपछि गत वैशाखमा हुबहु पारित भएको थियो। 

 

नयाँ विधानअनुसार गठन भएको पाँच सदस्यीय मोनिटरीङ कमिटीले अहिले जिल्ला निर्वाचनको अध्ययन गरिरहेको छ। मोनिटरीङ समितीले आफ्नो प्रतिवेदन बुझाएपछि सम्पन्न हुने प्रदेश र केन्द्रको निर्वाचनसँगै आईसीसीले क्यान माथिको निलम्वन फुकुवा हुने विश्वास गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्