राष्ट्रपतिको शासनकाल लम्ब्याउन जनमत संग्रह



कायरोः राष्ट्रपतिको शासनकाल लम्ब्याउनका लागि आवश्यक पर्ने संविधान संशोधनलगायतका प्रस्ताव माथिको जनमतसंग्रहका लागि शनिबार इजिप्टमा मतदान सुरु भएको छ। तीन दिनसम्म चल्ने मतदान अप्रिल २२ तारिखमा समाप्त हुनेछ। जनमत संग्रहअन्तर्गत इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले शनिबार राजधानी कायरोस्थित एक मतदान केन्द्रमा मतदान गरेका छन्।

जनमत संग्रहले संविधान संशोधन प्रस्ताव पारित गरेमा राष्ट्रपति अल–सिसीको वर्तमान कार्यकाल थप दुई वर्ष थपिने छ र सन् २०२४ सम्म पुग्नेछ भने त्यसपछि छ वर्षे कार्यकालका लागि उनी पुनःउम्मेदवार हुन पाउने छन्। अधिकारकर्मीले विरोध गरेपनि जनमत संग्रहले अरब विश्वको सबैभन्दा ठूलो राष्ट्र इजिप्टको राजनीतिमा सैनिक जनरल अल–सिसीको पकड अझ बलियो बनाउने छ।

जनमतसंग्रहले सिसीलाई न्यायपालिकामा नियन्त्रणको बाटो खोलेको छ भने राजनीतिमा सेनाको प्रभाव बढाउने छ। सन् २०११ मा भएको जनविद्रोहले तत्कालनीन शासक होस्नी मुबारकको शासन सत्ता ढालेपछि गठन भएको मोहमद मोर्सी नेतृत्वको नागरिक सरकारलाई अपदस्थ गरी सैनिक जनरल सिसी इजिप्टको राष्ट्रपति बनेका थिए।

सिसीले मोर्सीलाई २०१३ मा सत्ताच्यूत गरेका थिए। त्यसको एक वर्षपछि उनी इजिप्टको राष्ट्रपति बनेका थिए। उनी सन् २०१८ को मार्चमा पुनःराष्ट्रपतिमा ९७ प्रतिशतभन्दा बढी मत पाएर निर्वाचित भएका थिए। विपक्षी र मानवअधिकारवादीले इस्लामिक र धर्मनिरपेक्ष समूहमाथि राष्ट्रपति सिसीले दमन गरेको भन्दै आलोचना गरिरहेका छन्।

इजिप्टको संसद्ले अघिल्लो साता राष्ट्रपति अल–सिसीको शासनकाल सन् २०३० सम्म लम्ब्याउन सक्ने गरी संविधान संशोधन प्रस्ताव पारित गरेको थियो। राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार, संसद्ले देशको सेनालाई मुलुकको राजनीतिक मामिलामा प्रवेश गराउने तथा न्यायपालिकामाथि राष्ट्रपतिले बढी नियन्त्रण गर्न पाउने प्रावधान समेत पारित गरेको छ। राष्ट्रपति सिसी देशको सैनिक नेतृत्वबाट राजनीतिमा प्रवेश गरेका हुन्।

संसद्ले पारित गरेको संविधान संशोधनसम्बन्धी प्रस्तावलाई जनमत संग्रहमार्फत अनुमोदन गर्नु पर्ने संवैधानिक व्यवस्था छ। वर्तमान संवैधानिक व्यवस्थाअनुसार सन् २०१८ मा निर्वाचित राष्ट्रपति अल–सिसीको कार्यकाल निर्वाचित भएको मितिबाट छ वर्षमा सकिने छ। सभामुख अलि अब्देल आलले संविधान संशोधनको पक्षमा ५३१ तथा विपक्षमा २२ मत परेको जानकारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्