चीनका लागि बाइडेन खतरनाक हुन सक्ने



काठमाडौं : चीनका लागि बाइडेन पनि खतरनाक हुने बताइएको छ । वर्तमान राट्रपति डोनाल्ड ट्रम्पको ४ वर्षे कार्यकालमा यी दुई महाशक्तिबीचको टक्कर झनै उत्कर्षमा पुगेको थियाे ।

अमेरिकाले दर्जनौं चिनियाँ इलेक्ट्रोनिक सामग्रीमाथि प्रतिबन्ध लगाएको छ । अन्य सामग्रीमासमेत भन्सार बढाएको छ । अघोषित ढंगमा अमेरिकाले चीनसँग व्यापारयुद्ध लड्यो । आफ्ना नागरिकलाई चिनियाँ सामान प्रयोग नगर्न अप्रत्यक्ष आदेश दियो । यसले चीनको अर्थव्यवस्थामा धक्का पर्ने भयो । चीनको अर्थतन्त्र निर्यातमुखी छ र बढी भर अमेरिकासँग नै परेको छ ।

गत नोभेम्बर ३ का दिन अमेरिकामा राष्ट्रपतिको निर्वाचन सम्पन्न भयो । चुनावले राष्ट्रपति ट्रम्पको कार्यशैली अस्वीकार गरिदियो र ह्वाइट हाउसको जिम्मा दिन चाह्यो । डेमोक्रेटिक पार्टीका जो बाइडेनलाई अब प्रश्न, आशंका र अनुमान गर्न थालिएको छ ।

बाइडेनको पालामा अमेरिका र चीनबीचको सम्बन्ध राम्रो होला ?
विश्वका कतिपय देश अमेरिकाको निर्वाचनमा विभाजित बन्न पुगे । कोहीलाई मौजुदा रिपब्लिकन पार्टीका ट्रम्प नै ठीक लाग्यो त कतिपयलाई डेमाक्रेटिकको पक्षमा बोले । भारतको सत्ताले स्पष्ट रूपमै ट्रम्पप्रति रूचि देखायो । चीनले भने आफूलाई कतै ढल्केको देखाएन ।

आगामी जनवरी २० तारिखका दिन ह्वाइट हाउसमा बाइडेन प्रवेश गर्ने भएका छन् । चीन उनको कार्यशैली र व्यवहारको प्रतीक्षाम छ । यही समय कतिपयले बाइडेनको कार्यकालमा अमेरिका र चीनको सम्बन्धमा कुनै सुधार नआउने बताउन थालेका छन् ।

ट्रम्पले जस्तै बाइडेनले पनि चीनप्रति कडा व्यवहार नै गर्न सक्ने चीनको सेन्ट्रल बैंकका पूर्वसल्लाहकार तथा वर्तमानमा सिंगुवा युनिभसिटीका प्रोफेस डेभिड ली डोकुईले एक अन्तर्वार्तामा बताए ।

बाइडेनले अमेरिकामा लागू गर्न सक्ने कतिपय नीति चीनका निम्ति खतरनाक हुने अनुमान गरिएको छ । यस्ता नीतिले चिनियाँ उद्योग र उत्पादनमा सीधै नोक्सान पार्ने उनको बुझाइ छ ।

डोकुईले भने,‘‘आगामी वर्ष चिनियाँ विदेश नीति, उद्योग तथा कम्पनीहरूका लागि चुनौतीपूर्ण रहने छ । तर, खुसीको कुराचाहिँ के छ भने, ट्रम्प प्रशासनको तुलनामा बाइडेनसँग संवाद गर्न भने सहज हुने छ ।’’ उनका अनुसार ट्रम्प युग अहिले नै अन्त्य भएको छैन । उनी २०२४ मा पुनः राष्ट्रपति बन्न प्रयास गर्न सक्ने छन् । डोकुईले चीनलाई बाइडेन प्रशासनसँग आफ्नो सम्बन्ध कुशल बनाउन सकिने भ्रममा नबस्न अनुरोध पनि गरे । उनले थपे, ‘‘वासिङ्टनसँग पेश हुनका लागि आफैंलाई तयार पार्नुपर्छ ।’’

चीनको सेन्जेन प्रान्तका उन्नत वैश्विक तथा समकालीन चीन अध्ययन संस्थानका डिन ढेङ योङनियानको मतमा अमेरिका र चीनबीचको असल सम्बन्ध हुने दिन अब बाँकी छैन । चीन र अमेरिकाबीचको सम्बन्ध चिसिएको हालैका दिनमा नभई वर्षौंदेखि शीतयुद्ध चलिरहेको उनको भनाइ छ । एजेन्सी

प्रकाशित :१६ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्