जुलुस प्रदर्शन गर्न प्रशासनको रोक, कारबाहीको चेतावनी



काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ । सोमबार राजसंस्था पुर्नस्थापनाको माग गर्दै राष्ट्रिय शक्ति नेपालले उपत्यकामा गरेको विशाल प्रदर्शनको भोलिपल्टै काठमाडौं जिल्ला प्रशासनले प्रेस विज्ञप्ति जारी गर्दै सो आग्रह गरेको हो ।

मंगलबार प्रशासनले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको हो । यस्तो क्रियाकलापले संक्रमण झन भयावह हुने भन्दै सो आग्रह गरेको हो ।

पछिल्लो समय काठमाडौंमा विभिन्न माग राखी राजनैतिक तथा अन्य भीडभाडजन्य गतिविधि बढिरहेको भन्दै प्रशासनले त्यस्ता गतिविधि नगर्न सूचना जारी गरेको छ । भीडभाडजन्य गतिविभि सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन स्थानीय प्रशासन ऐन–२०२८, र संक्रामक रोग ऐन २०२० विपरीत हुने पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रशासनको अनुरोधविपरीत सभा, सम्मेलन, जुलुस गरी भीडभाड बढाएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समय काठमाडौंलगायत मुलुकका मुख्य शहरहरुमा राजसंस्था पुर्नस्थापनाको माग गर्दै जुलुस, प्रदर्शन र र्याली भइरहेको छ ।

प्रकाशित : मंसिर १६, २०७७

प्रतिक्रिया दिनुहोस्