राजतन्त्रप्रतिको मोह कि दलहरुलाई चेतावनी ?



काठमाडौं : ‘राजा जनता एक हौं’ भनेर सोमबार काठमाडौंमा प्रदर्शन भइरहेका बेला पूर्व युवराज पारस शाहको कुकुरलाई सिरानी हालेर सेल्फी खिचेको पुरानो तस्बिर पुनः सामाजिक सञ्जालमा पोष्टिएको देखियो । त्यो तस्बिरको स्रोत पारस शाहको फेसबुक पेज थियो । उनले गत मार्च २५ मा फेसबुक पेजमा राखेका थिए ।

झण्डै ९ महिनापछि सोमबार काठमाडौंमा राजाको पक्षमा प्रदर्शन भइरहेकै बेला कुनै युवाले ‘हरेकले आफ्नो सामान्य जीवन बिताउन पाउँछ नि ! तर अहिलेका नवमहाराजहरुको जीवनस्तर हेरौं’ भन्दै पारसको पक्षमा र अहिलेका नेताहरुविरुद्धको भाव झल्किने गरी तस्बिरसहित सामाजिक सञ्जालमा लेखेंं ।

एकातिर देशका मुख्य सहरमा राजाको पक्षमा प्रदर्शनको लहर (बुटवलदेखि काठमाडौं) । सामाजिक सञ्जालमा त्योभन्दा चर्को प्रदर्शन । अर्कोतिर सत्तासीन दल नेकपामा विवादपछिको तरङ्ग । विधिवतरुपमा राजतन्त्र बहिर्गमनको १२ वर्षभित्र दलहरुले देखाएको कार्यकुशलता, सत्ता र शक्तिका लागि भइरहेका छिनाझम्टी ।

२४० वर्ष देशको ‘सिंहासन’ सम्हालेको राजतन्त्रकालमा भएका तमाम बेथिति र विसंगति, राज्यशक्तिको दुरुपयोग, राज्यस्रोतको दोहन र असमान वितरण, विभेदको कहालीलाग्दो खाडल, मान्छेहरुलाई ए, बि, सी वर्गमा विभाजन गर्ने राणाकालिन मानसकिताको निरन्तरता स्वरुप कसैलाई सार्वभौमसत्तासहितको अधिकार, कसैलाई रैतिको दर्जा र शोषण, नागरिक अधिकारको हनन्जस्ता तमाम् समस्याहरुलाई बिर्सेर १२ वर्षमै फेरि त्यही व्यवस्थाको माया किन लागिरहेको छ ?

असन्तुष्टिको निशानामा व्यवस्थाका बाहक !
राज्य व्यवस्था परिवर्तनपछिको संक्रमण पीडादायी हुन्छ नै । राजतन्त्र बहिर्गमनपछिको झण्डै दुई तिहाई समय त व्यवस्थाको विधिवत एवं संस्थागत विकासमै व्यतित भएको छ । विकासका लागि सरकार बनेको र काम गर्न थालेको २०७४ सालको निर्वाचनपछि न हो । यो समय पनि संघीयतालाई संस्थागत गर्न कानुन, संरचना निर्माण र नीतिगत प्रवन्धमै बितिरहेको छ । तर, दलहरुले जनअपेक्षा र व्यवस्थाको मर्मअनुसार काममा र व्यवहारमा आफूलाई प्रमाणित गर्न नसकेको कुरा चाहिँ नकार्न सकिदैन । अर्को गाउँगाउँमा गएको सिंहदरबार महंगो भएको र नेताहरुले मात्रै बढी लाभ लिइरहेको, देश करिब ४० प्रतिशत ऋण लिएर चल्नुपर्ने अवस्था, नेताहरुको विलाशी जीवनशैलीका कारण चरम असन्तुष्टि बढिरहेको छ ।

अहिलेसम्म नेताहरुको कार्यशैली र आचरण, जनअपेक्षानुरुप काम हुन नसकेको भन्दै असन्तुष्टिको निशानामा दल तथा तिनका नेताहरु छन् । यो असन्तुष्टि व्यवस्था परिवर्तन गर्नेसम्मको जोखिममा जानुअघि नै सुधार्न जरुरी छ । यद्दपि अहिले सडकमा भइरहेका प्रदर्शनमा केही संख्याले व्यवस्था परिवर्तनको माग गर्न समेत भ्याइसकेका छन् । तथापि दलहरुमा देखिएको सुझबुझको अभावले एकाध वर्षमै व्यवस्था नै काम लाग्दैन भन्नु र मृत राजसंस्थाको वकालत गर्नु कुनै दृष्टिकोणबाट जायज छैन । २४० वर्षको शासनसँग एकाध दशकको तुलना कसरी हुन सक्छ ? यो गणतन्त्र पक्षधरहरुको कुरा भयो ।

तर पनि राजतन्त्रको पक्षका जुलुस भइरहेकै छन् । सामाजिक सञ्जालमा दल र नेताहरुको उछितो काड्ने काम जोडतोडका साथ चलिरहेको छ । त्यो संख्या आजभन्दा भोलि बढिरहेको छ ।

गणतन्त्र मन नपराउनेको चुरिफुरी :
गणतन्त्र राम्रो नलाग्ने भीडलाई शक्तिमा हुँदा त्यसको चरम दुरुपयोग गरेको पाप सडकमा बरालिएर पखालिरहेका पारसको माया किन लागिरहेको छ ? केही समय शासनसत्ता आफ्नो हातमा लिएर क्षमता होइन ‘निरंकुशता’ प्रदर्शन गरिसकेका ज्ञानेन्द्र कुन अर्थमा प्रिय लागिरहेका छन् ? सुरुमै उल्लेखित पारसको सन्दर्भ होस् या उनका अरु तमाम् काण्डहरुमा पनि गाली गर्नेभन्दा प्रशंसा गर्नेकै भीड किन देखिन्छ ? उनले गल्ती गर्दा पनि ‘गौरवशाली इतिहास बोकेको शाह वंशीय राज संस्थाप्रति हामीलाई गर्व थियो, हुनेछ र रहिरहने छ’ भनेर समर्थन भइरहेकै छ । उनको पोष्ट वा शैलीको बारेमा कमैले गाली गर्ने र धेरैले समर्थन गर्ने काम किन भइरहेको छ ?

अर्कोतर्फ, गणतन्त्र पक्षधर दलका नेताहरुले हिँडेको, खाएको, बसेको, बोलेकोलगायत हरेक कुरामा खराब मात्रै देख्ने, गाली गर्ने अवस्था किन निर्माण भइरहेको छ र त्यो कसले गरिरहेको छ ?
राजाको पक्षमा भइरहेका प्रदर्शनपछि युवालाई लक्षित गर्दै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरल भाषामा लेखें ‘युवासँग मेरो आग्रह—गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाउँ ! अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाँकी गिलास भरौं, नकि रिसको झोकमा आधा भरिएको गिलास घोप्ट्याएर खाली होस् ! अगाडिको स्यालसँग लड्दा झ्यांगमा लुकेको ब्वाँसो नबिर्सौ । दुबैसंग लडेर अघिजाने साहस गरौं ।’ यति सरल कुरामा पनि डा.भट्टराईलाई गालीको वर्षा भयो । धेरै बकबक नगरैकै राम्रो भन्दै उडाइयो ।

सोमबार काठमाडौंमा राजा पक्षधरको प्रदर्शनपछि फेरि डा. भट्टराईले त्यहीं दिन बेलुका लेखें ‘एउटै शैलीमा देशका प्रमुख सहर र काठमाडौंमा गरिएका राजावादीहरुका प्रायोजित हर्कतले २०१७ सालको योगी नरहरीनाथहरुको भद्दा नक्कल गरेको प्रष्टै छ । तर, यो २१औं शताब्दी हो, सार्वभौम बनेका जनता फेरि दासतामा फर्कने छैनन् । हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नातीपुस्ता जन्मिसकेको छ है !’

यसमा पनि राजनीतिक दलहरुप्रतिको वितृष्णा नै पोखियो । केहीले भने ‘नेताहरु नसुध्रे यसै भन्न सकिन्न । संसारमा लामो समयपछि राजतन्त्र फर्किएको इतिहास त पढ्नुभएकै होला । राजनीतिमा सबै कुरा सम्भव छ । आशा गरौं इतिहास नदोहोरियोस् । जुन राजा फाल्न भनेर आन्दोलन गरेका थिए, त्यही राजा चाहियो भन्दै सडकमा आउन जनतालाई बाध्य हुने परिस्थिति किन र कसरी सृजना भयो त ?’ उल्लेख गर्दै चेतावनीको भाषामा नेताहरुलाई सचेत गराएका छन् । अहिले होइन गणतन्त्रलाई सुरुदेखि नै मन नपराउने तप्का र शक्तिहरुबाट असन्तुष्टिको सानो ‘भल’ लाई छोपेर समुद्र बनाउने सपना समयमै निस्तेज पार्न जरुरी छ ।

जनता सशंकित :
गणतन्त्र हजारौं जनताको बलिदानी र योगदानबाट आएको व्यवस्था हो । त्यसका नेतृत्वकर्ता दलहरु नै हुन् । उनीहरुको लामो समयको प्रयासपछि जनताले यो बाटोमा हिंड्ने संकल्प गरेका हुन् । त्योभन्दा बढी तत्कालिन बेथितिहरुको अन्त्य गरी अवसरको समान वितरण, समानुपातिक विकास, समृद्धिको सपना पूरा गर्ने दलहरुको प्रतिवद्धताले जनता अहिलेको व्यवस्थाको पक्षमा छन् ।

तर, गणतन्त्रको प्रारम्भमा देखाइएका सपना र त्यो अनुकूल नेताहरुले जनतालाई आश्वस्त पार्न नसकेको व्यवहारका कारण केही असन्तुष्टि पक्कै बढेका छन् । त्यसैमा सत्तासीन दल नेकपाको विवाद, त्यसअघि पटक पटक बनेका सरकार र तिनको सेवा प्रवाह, सुशासन, न्याय, समृद्धितर्फको यात्राले उनीहरुप्रति संशय बढिरहेकै छ । यहीं मौकामा तत्कालिन राजावादीहरुले खेलिरहेका छन् । खासगरी अहिलेको प्रदर्शनमा विश्व हिन्दु महासंघ, विभिन्न नामका स्वतन्त्र संगठन (स्वतन्त्र देशभक्त नागरिक, राष्ट्रवादी नागरिक समाज), केशरबहादुर विष्टको राष्ट्रिय शक्ति नेपाल, हरिबोल भट्टराईले नेतृत्व गरेको नेपाली काँग्रेस (बीपी), प्रकाश कोइरालाले नेतृत्व गरेको नेपाली काँग्रेस (राष्ट्रवादी) र शिवसेना नेपाल लगायतले मौकामा चौका हानिरहेका छन् ।

केही राजाको पक्षमा र केही दललाई चेतावनी दिन पनि आन्दोलनमा सहभागी छन् । तर, यसलाई सामान्य ठानेर दलहरुले आफ्नो व्यवहार नसुधारेमा र अहिलेको सडकबाट दिइएको चेतावनीको जवाफ असल कामबाट दिएनन् भने अहिलेको व्यवस्था नचाहनेहरुको मनोबल थप बढ्न सक्छ ।

यति मात्रै होइन, अहिले त दोलखाको भिमसेनमा पसिना आयो अब अनिष्ट हुन्छ । भारतका सचिवदेखि चीनका रक्षामन्त्रीसम्मको आउजाउँ बढ्यो अब त पक्कै व्यवस्था विरोधी गतिविधि हुने नै भए भनेर अफवाह फैलाइ जनताको मनोबलसमेत कमजोर गर्ने प्रयास भइरहेको छ । तर, अहिलेको व्यवस्था त्यति कमजोर जगमा बनेको छैन । नेपालका उत्पीडित वर्ग, मधेस आन्दोलन, समावेशी, समानुपातिक सिद्धान्तका पक्षपाती हजारौं हजार नागरिकको योगदान, खुनपसिनाले सिंचित छ यो व्यवस्था । तथापि सिंहदरबारदेखि गाउँगाउँमा गएको शासनसत्तामा बसेका सबै जनप्रतिनिधि र क्रियाशील दल तथा नेताहरुको सुझबुझपूर्ण पहलकदमी भने अत्यावश्यक भइसकेको आम विश्लेषकहरुको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्