स्कुल बसको ठक्करबाट एकको मृत्यु, ३ जना घाइते



काठमाडौं : पूर्वी नवलपरासीमा ब्राइट फ्युचर इंलिस बोर्डिङ स्कुलको बसको ठक्करबाट गम्भीर घाइते भएका तीन मध्ये एक जनाको मृत्यु भएको छ ।

आज (मंगलबार) बिहान मध्यबिन्दु नगरपालिका-९ वसन्तपुरको भित्री सडक खण्डमा ग.१क २४८३ नं.को स्कुलबसले विपरीत दिशाबाट आउँदै गरेको लु २०प २४३७ नं.को मोटरसाइकललाई ठक्कर दिँदा ३ जना गम्भीर घाइते भएका थिए ।

घाइतेमध्ये मध्यबिन्दु नगरपालिका-१३ का ३५ वर्षीय सन्तबहादुर कुमालको निधन भएको हो । उनको उपचारको क्रममा भरतपुरमा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मधु सिंहले बताए ।

दुर्घटनामा परी मध्यबिन्दु–१३ का मनु विक, २६ वर्षीय तुलबहादुर खाम्चा गम्भीर घाइते भएका छन् । उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने बस प्रहरी चौकी चोरमाराको नियन्त्रणमा रहे पनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :१६ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्