निर्वाचित वडा अध्यक्ष ऐरले दिए राजीनामा



डडेलधुरा : डडेल्धुरामा निर्वाचित वडा अध्यक्षले राजीनामा दिएका छन् ।

आलिताल गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष पुर्णबहादुर ऐरले सोमबार कार्यपालिका बैठकमा आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

बैठकमा वडा अध्यक्ष ऐरको राजीनामा पत्र आएको भन्ने जानकारी पाएको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए । उनले आफु बाहिर भएकाले राजीनामा पत्र हेर्न भने नपाएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित वडा अध्यक्ष पुर्णबहादुर ऐरले सहकर्मीले असहयोग गर्दै आएका कारण आजित भएर राजीनामा दिएको बताए ।

‘निर्वार्चित भएपछि मलाई असहयोग हुँदै आएको छ । विपक्षी दल कांग्रेसबाट निर्वाचित भएका साथीहरुले मेरा राम्रा कामलाई वेवस्ता गर्ने, सधै खेदो खन्ने काम गरेका कारण राजीनामा दिन विवस भए’ उनले भने । आफुलाई काम गर्ने सहज वातावरण नभएकाले राजीनामा दिनुपरेको उनको भनाई छ ।

उनी भन्छन,‘राजीनामा पेश भइसकेपछि स्वीकृत हुन बाँकी छ । अब भने काम गर्ने सहज वातावरण मिलाइन्छ भने मात्रै पदमा बस्न सकिन्छ नत्र म बस्दैन ।’

प्रकाशित :१६ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्