दुई समूहबीच बाँकेमा झडप हुँदा १ जनाको मृत्यु, १२ घाइते



काठमाडौं : बाँकेमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

कात्तिके पूर्णिमाको अवसरमा लागेको मेलामा दुई समूहबीच झडप हुँदा जानकी गाउँपालिका–५ का गुरूगाउँका ५४ वर्षीय धनीराम यादवको मृत्यु भएको छ ।

स्थानीय २३ वर्षीय बाबु यादव र २३ वर्षीय राम नरेश गुप्ताबीच पूर्व रिसिबीका कारण विवाद भएको हो ।

सोही गाउँपालिका–५ गुरुवागाँउस्थित नागबाबा कुटीमा लागेको कात्तिके पूर्णिमा मेलामा पुरानो रिसिबीलाई लिएर स्थानीय २३ वर्षीय बाबु यादव र २३ वर्षीय राम नरेश गुप्ताबीच विवाद भएको थियो ।

प्रहरीका अनुसार सोही विवादलाई लिएर दुवै पक्षका मानिसहरु बानियाँगाउँमा भेला भई आपसी झै–झगडा एवं कुटपिट हुँदा धनीराम गम्भीर घाइते भएका थिए । उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

झडपमा परी अन्य १२ जना घाइते भएका छन् भने घाइतेमध्ये दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको र अन्य १० जना सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् ।

कुटपिट घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाँके र सशस्त्र प्रहरी गण खजुरा बाँकेबाट खटिएको प्रहरी टोलीले १४ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १६, २०७७

प्रतिक्रिया दिनुहोस्