प्रदेश २ को नीति आयोग एक वर्षदेखि सदस्य विहीन



जनकपुरधाम : प्रदेश–२ को नीति तथा योजना आयोग विगत एक वर्षदेखि सदस्य विहीन रहेको छ । पार्टीभित्रको आन्तरिक किचलोका कारण अहिलेसम्म नीति तथा योजना आयोगमा सदयहरु नियुक्त नगरिएको बताइएको छ ।

मुख्यमन्त्री लालबाबु राउत अध्यक्ष रहेको आयोगमा प्रदेश सरकारबाट नियुक्त एक उपाध्यक्ष, एक महिला सदस्यसहित बढीमा ६ सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयको सदस्य सचिव रहनेगरी समावेशीकरणको सिद्धान्त बमोजिम बढीमा ८ जनाको आयोग गठन हुने व्यवस्था रहेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा एक उपाध्यक्ष र एक सदस्य नियुक्त भएकोमा २०७५/७६ मा ३ जना सदस्य थप भई पदेन समेत ७ सदस्यीय आयोग गठन भएको थियो । तत्कालिन उपाध्यक्ष रहेको डा.हरिवंश झासहित सबै सदस्यहरुलाई हटाइएपछि दफा ३ को उपदफा (२) को खण्ड (ख) बमोजिम उपाध्यक्षको नियुक्ती गरिएपनि सदस्यहरुको नियुक्ती भने अहिलेसम्म गरिएको छैन । सोही वर्ष सबै सदस्यहरुलाई हटाई अहिले एकजना उपाध्यक्ष मात्र कार्यरत रहेको अवस्था छ ।

यता, सदस्यहरुको नियुक्ती नगरिएकोले काम गर्न समस्या भइरहेको उपाध्यक्ष डा.भोगेन्द्र झाले बताए । उनले भने,‘म सबै विषयको जानकार छुइन् । अन्य विषयमा सदस्यहरुको अपरिहार्यताको आवश्यकता रहेकोले प्रदेशको नीति निर्माणमा समेत मलाई समस्या भइरहेको छ ।’

गठन भए लगतै समाजवादीले उपाध्यक्षमा डा.हरिवंश झा र सदस्यमा डा. सुरेन्द्र झा, मोहन लाल चौधरी, राजकुमार लेखि, डा।वैद्यनाथ महतोलाई नियुक्त गरेको थियो । उपाध्यक्ष झा र सदस्य महतो एवं चौधरी समाजवादी पार्टीबाट नियुक्त भएका थिए भने सदस्यद्वय सुरेन्द्र र राजकुमार राजपा नेपालबाट नियुक्त भएका थिए । त्यसपछि उपाध्यक्ष .सहित सदस्यहरुलाई २०७६ भदौ २१ गते हटाइएको थियो । उपाध्यक्ष नियुक्त गरिएपनि पार्टीमा देखिएको आन्तरिक किचलोका कारण सदस्यहरुको टुङ्गो लाग्न सकेको छैन ।

विगतमा राजपा र समाजवादी पार्टीमै सदस्य नियुक्तीमा विवाद देखिएको थियो भने अहिले पार्टी एकता भएर जसपा बनेपछि उनीहरुको पार्टी व्यवस्थापनामै ध्यान केन्द्रित रहेकोले अन्य सदस्यहरुको नियुक्ती हुन नसकेको पार्टी स्रोतले जनाएको छ ।

प्रदेशको सुशासन, दिगो विकास तथा समृद्धिका लागि आवधिक योजनाको तर्जुमा, कार्यान्वयन, सहजीकरण, अनुगमन तथा मूल्याङ्कन गर्न, नीतिको अनुसन्धान तथा विकास गर्न र प्रदेश सरकारलाई सल्लाह, सुझाव तथा सहयोग प्रदान गर्नका लागि प्रदेश नीति तथा योजना आयोगको गठन गरिएको हुन्छ ।

प्रकाशित : मंसिर १६, २०७७

प्रतिक्रिया दिनुहोस्