अनियमितता आरोपमा तीन प्रहरी अधिकृत निलम्बित



काठमाडौं : गृह मन्त्रालयले अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका दुई एसपी र एक इन्स्पेक्टरलाई निलम्बन गरेको छ ।

ट्राफिक कार्यालयमा रहँदा अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा इन्स्पेक्टर मेघराज चौरसिया निलम्बित भएका हुन् ।

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा अनियमितता गरेको खुलेपछि उनीहरूलाई गृहले निलम्बन गरेको हो । उनीहरुलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहले निलम्बन गरेको हो ।

निलम्बन गरेर उनीहरूमाथि विभागीय कारबाही गर्न लागिएको एसएसपी कुँवरले बताए । आफूमातहतकै प्रहरी कार्यालयहरूबाट मासिक रूपमा पैसा उठाएको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको थियो ।

प्रकाशित : मंसिर १७, २०७७

प्रतिक्रिया दिनुहोस्