माउन्टेन इनर्जी नेपालद्वारा आइपीओ बाँडफाँड



काठमाडौं : माउन्टेन इनर्जी नेपालले बुधबार आइपीओ बाँडफाँट गरेको छ । आइपीओ बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले आज माउन्टेनको आइपीओ बाँडफाँट गरेको हो ।

गत कात्तिक २६ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आइपीओमा ६ लाख ५३ हजार २९१ आवेदकले निवेदन दिएका थिए । आवेदन दिएकामध्ये एक हजार ७१६ जनाको आवेदन रद्द भई ६ लाख ५१ हजार ५७५ जनाले सहभागिता जनाएका थिए ।

योग्य आवेदकमध्ये गोलाप्रथाबाट एक लाख ८३ हजार २६ जनाले शेयर पाएको नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले जानकारी दिए । उनका अनुसार सहभागीमध्ये पाँच जनाले ११ तथा बाँकीले १० कित्ता शेयर पाएका छन् ।

शेयर आवेदन गर्दा २० कित्ताभन्दा बढी आवेदन दिनेलाई दोस्रो गोलाप्रथामार्फत पाँच जनाले थप एक कित्ता शेयर पाएका हुन् ।

कम्पनीले १९ लाख ६८ हजार २७ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो जसमा ३९ हजार ३ सय ६१ कित्ता कम्पनीका कर्मचारी तथा ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो ।

बाँकी १८ लाख ३० हजार २६५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

कम्पनीले हाल नुवाकोट जिल्लाको सुन्दरादेवी गाउँपालिकामा पाँच मेगावाटको तादी खोला (थप्रेक) जलविद्युत् आयोजना तथा म्याग्दी जिल्लाको नारच्याङ गाउँपालिकामा ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रकाशित : मंसिर १७, २०७७

प्रतिक्रिया दिनुहोस्