कक्षा १२ को नतिजा पुस महिनाभित्र



काठमाडौं : मंगलबार सकिएको कक्षा १२ को नतिजा पुस महिनाभित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी छ । परीक्षा मंसिर ९ गतेबाट शुरु भएको थियो ।

उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण र नतिजा तयारीका लागि एक महिनाको समय लाग्ने अनुमान गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । उत्तरपुस्तिका परीक्षणको काम सुरु भइसकेको छ । शिक्षकहरूले उत्तरपुस्तिका परीक्षण गरेर मंसिर २२ सम्म बोर्डको सम्बन्धित कार्यालयमा पठाइसक्नुपर्नेछ ।

बोर्डको प्रदेश र शाखा कार्यालयहरूमा ती उत्तरपुस्तिकाको सम्परीक्षण गरेर केन्द्रमा पठाइनेछ । केन्द्रमा अंक प्राप्त भएपछि कक्षा ११ को प्राप्तांक, आन्तरिक र प्रयोगात्मक परीक्षाको अंक जोडेर नतिजा सार्वजनिकको तयारी गरिने पौडेलले बताए । उनले कुनै बाधा अवरोध नभए १५ पुससम्म नतिजा प्रकाशित हुने आशा लिएको बताए ।

कोरोना महामारीका कारण वैशाखमा हुनुपर्ने परीक्षा स्थगित भएको थियो । बोर्डले मन्त्रिपरिषद्को स्वीकृतिमा कार्यविधि जारी गरेर ४० पूर्णांकको संक्षिप्त परीक्षा सञ्चालन गरेको हो । परीक्षा मर्यादित रूपमा सकिएको बोर्डले दाबी गरेको छ । विद्यार्थीले आफूले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो । उत्तरपुस्तिका पनि विद्यालयकै विषयशिक्षकले परीक्षण गरेर बोर्डको प्रदेश कार्यालय र शाखा कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

करिब १७ हजार विद्यार्थीले भने आफूलाई घरपायक पर्ने जिल्लाको केन्द्रबाट परीक्षा दिएका थिए । ४ लाख ३२ हजार ५ सय परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । ४ हजार १ सय ५ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

प्रदेश कार्यालयले विद्यार्थीको प्राप्तांक पठाएपछि केन्द्रीय सर्वरमा नम्बर इन्ट्रीको काम थालिने बोर्डले जनाएको छ । परीक्षार्थीको ४० प्रतिशत पूर्णांक कक्षा ११ को आधारमा मूल्यांकन गरिँदै छ  । २० प्रतिशत अंक विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा दिइनेछ  । आन्तरिक मूल्यांकन र प्रयोगात्मक परीक्षाको अंक विद्यालयहरूले बोर्डमा पठाइसकेका छन् । सैद्धान्तिकतर्फको संक्षिप्त परीक्षाको अंक, कक्षा ११ को प्राप्तांक र आन्तरिक मूल्यांकनको अंक एकमुष्ट जोडेर विगतमा जस्तै ग्रेडिङ पद्धतिमा कक्षा १२ को यस वर्षको नतिजा प्रकाशन हुनेछ । विद्यार्थीलाई बोर्डले नै ग्रेडसिटलगायतको प्रमाणपत्र दिनेछ  ।

प्रकाशित : मंसिर १७, २०७७

प्रतिक्रिया दिनुहोस्