तत्काल सिनेमा हल नखोल्ने सरकारको निर्णय



काठमाडौं : कोरोना महामारीका कारण करिब ९ महिनादेखि बन्द सिनेमा हल अझै नखुल्ने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै अझै सिनेमा हल नखुल्ने जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारको निर्णय सुनाउँदै १५ दिन अझै कडाइका साथ हल तथा रात्रिकालिन व्यवसाय बन्द गर्नुपर्ने बताएका थिए ।

‘नेपाल सरकारले नखोल्ने भनिएका सेवा र कार्यहरु अझै १५ दिन कडाइका साथ नखोल्ने, उक्त निर्णय पूर्णरुपमा कार्यन्वयन गर्ने र आगामी १५ दिनको संक्रमणको अवस्था हेरेर मात्रै हालसम्म जारी जनस्वास्थ्यका मापदण्डका विषयमा पुनरावलोकन गर्ने,’ उनले भने ।

कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सिनेमा हलहरु, रात्रीकालिन व्यवसायहरु, धेरै मानिसहरु जम्मा हुने र जनस्वास्थ्यका मापदण्डहरु उल्लंघन हुने खालका संस्था तथा व्यवसाय अझै नखोल्न अनुरोध गरेका हुन् ।

सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी नियन्त्रण र रोकथामका लागि भन्दै गत वर्षको चैतदेखि सिनेमा हलहरु बन्द गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : मंसिर १८, २०७७

प्रतिक्रिया दिनुहोस्