बौद्धमा आमाछोरी मृत फेला



काठमाडौं : काठमाडौंको बौद्धमा आमा र एक महिने छोरी मृत फेला परेका छन् भने एक जना अचेत अवस्थामा फेला परेका छन् ।

बौद्ध गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिने छोरी बिहीबार बिहान मृत फेला परेका हुन् । मृत पेम्बी शेर्पाका ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा अचेत अवस्थामा फेला परेका हुन् ।

सिन्धुपाल्चोक घर भई हाल उनीहरु नयाँ पाटीस्थित डेरामा बस्दै आएका थिए ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डिएसपी) नविन कार्कीका अनुसार दोर्जे शेर्पाको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको र उनको स्वास्थ्यमा सुधार आइरहेको छ ।

बिहान अबेरसम्म बोलाउँदा पनि कोठाबाट ननिस्किएपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी बिहान ८ बजेतिर घटनास्थल पुग्दा आमा–छोरी मृत फेला परेको र बुवा अचेत अवस्थामा फेला परेको डिएसपी कार्कीले बताए ।

प्रहरीले राति झ्याल ढोका बन्द गरी हिटर बालेर सुतेको हुँदा निस्सासिएर मृत्यु भएको हुनसक्ने आशंका गरेको छ । घटनास्थलमा पुगेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १८, २०७७

प्रतिक्रिया दिनुहोस्