परराष्ट्रमन्त्रीस्तरीय बैठकको गृहकार्य भइरहेको छ : भारत



काठमाडौं : नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय बैठकको तयारी भइरहेको भारतले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले दुई देशका परराष्ट्रमन्त्रीस्तरीय बैठकको तयारी भएरहेको र बैठक छिट्टै हुने बताएका छन् । नेपालका परराष्ट्रमन्त्रीको भ्रमणको बारेमा सोधिएको प्रश्नमा नयाँ दिल्लीमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता श्रीवास्तवले भने,‘दुई देशका परराष्ट्रमन्त्रीस्तरीय बैठक छिट्टै बस्ने र त्यसको गृहकार्य भइरहेको छ ।’ नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको मिति तय हुने बित्तिकै बैठकको मिति पनि टुंगो लगाउने गरी गृहकार्य भइरहेको उनले जानकारी दिए ।

‘हाम्रो सचिवले हालै गरेको नेपाल भ्रमणको समयमा नेपालका परराष्ट्रमन्त्रीलाई संयुक्त आयोगको वैठकमा सहभागी हुन निमन्त्रणा दिनुभएको छ । अहिले मिति तय गर्ने गृहकार्य भइरहेको छ,’ प्रवक्ता श्रीवास्तवले भने । यता मन्त्री ज्ञवालीको डिसेम्बरको दोस्रो साता भारत भ्रमण गर्ने गृहकार्य भइरहेको नेपाली अधिकारीहरुले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दूतका रुपमा ज्ञवालीलाई भारत पठाउन लागेका हुन ।

उनको भ्रमणको मुख्य उद्देश्य नेपाल-भारतबीचको संवादहिनताको निरन्तरता र बिद्यमान विवादलाई संवादबाट सहमतीमा लैजाने हुनेछ । यस्तै भारत भ्रमणका क्रममा मन्त्री ज्ञवालीले प्रबुद्ध व्यक्ति समूह (इपीजी) ले तयार पारेको प्रतिवेदनका विषयमा समेत कुरा पनि उठाउने नेपाली अधिकारीहरुको भनाइ छ । मन्त्री ज्ञवालीले भारत भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, विदेश मामिला मन्त्री लगायतका उच्च तहका नेताहरुसँग भेटवार्ता गर्नेछन् ।

प्रकाशित:१८ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्