मलेसियामा गुन्डागर्दी गर्ने डेबिड थुनामा



काठमाडौं— जिल्ला अदालत काठमाडौंले मलेसियामा बसेर गुन्डागर्दी र अपहरण गरी नेपालीलाई नै दुख दिने ‘डेबिड’ भनिने दुर्गाबहादुर श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

मलेसियामा बसेर गुन्डागर्दी र अपहरण गर्दै आएको उनले एक नेपालीलाई बन्धक बनाई रकम असुलेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा किटानी जाहेरी परेपछि नेपाल आएको गोप्य सूचनाको आधारमा प्रहरीले काठमाडौंको कान्ति बाल अस्पताल नजिकबाट केही दिनअघि पक्राउ परिएको थियो ।
ब्युरोकाअनुसार जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

श्रेष्ठले दाङको पहरुवा भन्ने स्थानका मध्म रैदासलाई अपहरण गरी सात दिनसम्म बन्धक बनाएको उजुरी परेको ब्युरो प्रमुख डीआईजी सहकुल थापा जनाएका छन् । रैदासकी श्रीमतीलाई फोन गरेर डेबिडले दुर्गाबहादुर श्रेष्ठको नाममा हिमालयन बैंक लिमिटेडको खातामा ६० हजार रिंगेट जम्मा गराउन भनेको र रकम जम्मा नगरे मारिदिने धम्कीसमेत दिएका थापाले जानकारी दिए।

मलेसियामा डान्सबार तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका श्रेष्ठले पटक पटक गरी श्रीमतिबाट १५ लाख ९२ हजार रुपैयाँ फिरौती असुलेपछि मात्रै उनका श्रीमानलाई अपहरण मुक्त गरेको अनुसन्धानबाट खुलेको थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्