कोरोना संक्रमितको शव व्यवस्थापनमा सैनिक महिला



काठमाडौं : नेपाली सेनाले कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापनमा सैनिक महिला परिचालन गरेको छ । त्यसका लागि उनीहरूलाई विशेष तालिम पनि दिइएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार शव दहनमा अभ्यस्त गराउन सेनाले उपत्यका पृतनामा कार्यरत सैनिक महिलालाई एक साताको तालिम दिइएको थियो । तालिममा सिपाही दर्जाका १० जना सहभागी थिए । उनीहरूले ६ वटा शव दहन गरिसकेको सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए ।

‘महिला सशक्तीकरणका लागि सेनाले गरेको यो एउटा नौलो प्रयोग हो,’ पौडेलले भने, ‘राष्ट्रका लागि आवश्यक हरेक क्षेत्रमा महिलाले उत्तिकै योगदान दिन सक्छन् भन्ने सन्देश प्रवाह गर्न खोजेका हौँ । यही कदमअन्तर्गत शव दहनमा महिला सैनिक प्रयोग गरिएको हो ।’

नेपाली समाजमा व्याप्त अन्धविश्वासका कारण महिलालाई शव दाहसंस्कारमा कमै सहभागी गराइन्छ । सैनिक प्रवक्ता पौडेलले भने, ‘महिला र पुरुष बराबरी हुन् । शव दहनमा महिलाको प्रयोग यसैको एउटा विम्ब हो । नेपाली सेना यसरी नै प्रत्येक क्षेत्रमा सैनिक महिलालाई सशक्त बनाउन चाहन्छ ।’

उनका अनुसार सातदिने तालिमका सहभागीलाई शव दहनका समुदायगत प्रक्रिया र संक्रमणबाट बच्ने सबै उपाय सिकाइएको छ । हिन्दू धर्ममा आस्था राख्ने समुदायका मृतकको शव पशुपतिनाथ मन्दिरस्थित विद्युतीय शव दहन केन्द्रमा दाहसंस्कार गर्ने गरिएको छ । यस्तै, बौद्ध धर्मावलम्बीहरूको शव स्वयम्भूस्थित घाटमा समाधिस्थ गरिन्छ । त्यसबाहेक इसाई, मुस्लिमलगायत धर्मावलम्बी समुदायका मृतकको शव उनीहरूकै परम्पराअनुसार दहन गर्न सैनिक महिलाले सघाउनेछन् ।

सेनामा साधारणतर्फ महिला अधिकृत १८३

सेनाले महिलाका लागि सेवा खुला गरेको सन् १९६१ देखि हो । तर, त्यसवेला महिलाका लागि साधरणतर्फ खुला थिएन । सन् २००४ देखि महिलाका निम्ति पनि सेनाले साधारणतर्फ सेवा खुला ग¥यो । त्यसयता प्रत्येक वर्ष सेनाले पुरुषसँगै महिलालाई पनि सैनिक सेवामा भर्ना लिँदै आएको छ । हालसम्म साधारणतर्फ महिला अधिकृतको संख्या एक ८३ पुगेको छ भने प्राविधिकतर्फ महिला अधिकृत दुई सय १४ जना छन् । साधारण सेवातर्फ जुनियर अधिकृतदेखि सिपाहीसम्म तीन हजार सात सय ५८ पुगेको छ । प्राविधिकतर्फ भने नौ सय सातजना छन् । सेनाका अनुसार साधारण सेवातर्फ सैनिक महिला अधिकृतको उपस्थिति मेजरसम्म छ । उनीहरूको संख्या अहिले ७४ छ । तर, प्राविधिकतर्फबाट माथिल्लो तहमा पुग्ने सैनिक महिला अधिकृतको संख्या धेरै छ । सेनाका अनुसार प्राविधिकतर्फ सैनिक महिलाको उपस्थिति सहायक रथीसम्म छ । उनीहरूको संख्या अहिले तीन छ । सबैगरी नेपाली सेनामा अहिले पाँच हजार ६२ सैनिक महिला सेवारत छन् ।नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् ।

प्रकाशित : मंसिर २०, २०७७

प्रतिक्रिया दिनुहोस्