पेस्तोसहित मोरङबाट एक जना पक्राउ



विराटनगर : भारतबाट हतियार नेपाल भित्र्याएर बिक्री गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको सुनवर्षीबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका–५ का ४१ वर्षीय राजकुमार मण्डल रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । शुक्रबार दिउँसो पक्राउ परेका मण्डलको साथबाट एउटा कटुवा पेस्तोल, दुईवटा गोली, १९ हजार तीन सय २५ रुपैयाँ नगद र मोबाइल बरामद भएको राईले बताए ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार एउटा होटलमा मदिरा सेवनका लागि बसेका मण्डलले कम्मरमा भिरेको पेस्तोल स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका हुन् । स्थानीय बासिन्दाले खबर गर्ने बित्तिकै परिचालित प्रहरी टोलीले मण्डललाई पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा उनले बिक्रीका लागि पेस्तोल भारतको भागलपुरतिरबाट ल्याएको खुलेको छ । मण्डलले कसलाई बिक्रीका लागि पेस्तोल ल्याएको हो भन्ने खुलाएका छैनन् । उनको साथबाट बरामद भएको मोबाइलको कल डिटेल्सका आधारमा हतियार किन्न खोज्ने व्यक्तिको पहिचान गर्ने प्रयास भइरहेको एसपी खड्काले बताए ।

प्रकाशित : मंसिर २०, २०७७

प्रतिक्रिया दिनुहोस्