नापतौलका ४ जना कर्मचारी घुससहित पक्राउ



पर्सा : जिल्ला प्रशासन कार्यालय, पर्साले ११ हजार घूससहित नापतौल तथा गुणस्तर कार्यालय वीरगञ्जका ४ जना कर्मचारीलाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाएको छ ।

स्थानिय प्रशासनले घुस लिएको आरोपमा नापतौल कार्यालयका सहायक निरीक्षक वीरेन्द्र उपाध्याय, सहयोगी पद्मबहादुर रोक्का, सत्यनारायण चौधरी र एकजना चालकलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका चारजनामध्ये दुईजनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि दुई जनालाई मात्र अख्तियारको जिम्मा लगाइएको छ भने दुई जनालाइ अख्तियार कै निर्देशन अनुसार कार्यालय प्रमुखको जिम्मा लगाइएको छ ।

उनिहरुको रिपोर्ट नेगेटिभ आएपछि पुन अख्तियारको जिम्मा लगाउने पर्साका प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए ।

कोरोना सक्रमणको पुष्टि भएका दुई कर्मचारीलाई होम आइसोलेशनमा राखिएको र अन्य दुई कर्मचारीलाई नियन्त्रणमा लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको जिम्मामा लगाईएको प्रजिअ तामाङ्गले जानकारी दिए ।

परवानीपुरको एक कारखानामा चेकजाँचको बहानामा नापतौल तथा गुणस्तर कार्यालय वीरगंजका कर्मचारीहरुले केही सामानहरु नियन्त्रणमा लिएका थिए ।

सोही सामान फिर्ता गर्न कर्मचारीले कारखानाका सचालक सग ११ हजार घूस लिएका थिए ।

लिएको घुसको रकम मध्ये सहायक निरिक्षक विरेन्द्र उपाध्यायले ५ हजार तथा कार्यालय सहयोगी र चालकले २–२ हजारको दरले भागभण्डा लगाएका थिए ।

श्रोत अनुसार घुसको रकम लेनदेन गर्दा बनाइएको भिडियो अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय टङ्गालमा पठाएको र अख्तियारले दिएको सूचनाको आधारमा नै प्रमुख जिल्ला अधिकारी तामाङ्गले उनीहरुलाई पक्राउ गरेका हुन् ।

प्रकाशित : मंसिर २०, २०७७

प्रतिक्रिया दिनुहोस्