धानकाे मूल्य ताेकियाे, तर बिक्री भएन



धनगढी : सरकारले समयमै धानको समर्थन मूल्य तोकेकामा खुसी भएका किसान धान बिक्री नहुँदा निरास भएका छन् । विगतमा धान बिक्री भइसकेपछि मात्रै धानको मूल्य तोक्ने गरेको सरकारले यस वर्ष असोज पहिलो साता नै समर्थन मूल्य तोकेको हो । आजको अन्नपूर्ण पोस्टले पृष्ठ १२ मा यो समाचार छापेको छ ।

 

दसैंतिहार खर्च निकाल्न किसानले असोज पहिलो साताबाटै धान बेच्न थालिसकेका छन् । तोकिएको मूल्य कडाइका साथ कार्यान्वयन गराउन प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिए पनि त्यो कार्यान्वयनमा आएको छैन ।

 

विगतमा धानको मूल्य निर्धारणमा ढिलाइ हुँदा कैलाली र कञ्चनपुरका किसानले लागत मूल्यसमेत पाउन नसकेको गुनासो गर्दै आएका थिए । यस वर्ष प्रदेश र स्थानीय सरकारलेसमेत किसानलाई सहज नगरिदिएको उनीहरूको गुनासो छ । 

 

सरकारले यस वर्ष मोटो धानको मूल्य प्रतिक्विन्टल दुई हजार तीन सय ३१ रुपैयाँ तोकेको छ भने गत वर्ष त्यो मूल्य दुई हजार दुई सय थियो । मध्यम धानको मूल्य दुई हजार चार सय ६० रुपैयाँ प्रतिक्विन्टल तोकिएको छ ।

 

गत वर्षभन्दा यो वर्षको मूल्यमा १२ पैसा मात्र बढी हो । तर किसानले बजारमा क्विन्टलको १९ सय रुपैयाँमा धान बिक्री गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्