युरोपियन युनियनले नेपालको हवाइ उड्डयनलाई छिट्टै कालोसूचीबाट हटाउने – मन्त्री भट्टराई



काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले युरोपियन युनियनले नेपालको हवाई उड्डयनलाई छिट्टै कालो सूचीबाट हटाउने विश्वास व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले युरोपियन युनियनले दिवसको अवसरमा जारी गरेको विज्ञप्तिमा नेपालले हवाई सुरक्षाका लागि गरेको प्रस्ताव स्वागत योग्य भएको बताउनुले निकट भविश्यमै कालोसूचीबाट हटने संकेतका रुपमा लिएको बताए ।

पछिल्लो समय नेपालले नागरिक उड्डयन क्षेत्रमा संगठनात्मक पुनरसंरचनाका लागि मस्यौदा तयार गरी संघीय संसदमा छलफल भइरहेको बताउदै मन्त्री भट्टराईले संसदबाट ऐन पारित भएपछि युरोपियन युनियनले उठाएका अधिकांश चासो सम्बोधन हुने विश्वास पनि व्यक्त गरे ।

नेपालले नागरिक उड्डयन क्षेत्रमा गरेको सुधारका कारण दुर्घटनासमेत कम हुँदै गएको अवस्थामा युरोपियन युनियनले सकारात्मक स्टेटमेन्ट जारी गरेकोमा आफु उत्साहित भएको उनको भनाई छ ।
यस्तै मन्त्री भट्टराईले नेपालको वायुसेवा निगमले अस्ट्रेलियाजस्तो उड्डयान सुरक्षाको दृष्टिकोणले निकै नै सुरक्षित मानिएको देशमासमेत सफल उडान गरिसकेकाले अन्य आकासमा पनि प्रतिवन्धित हुनु नपर्ने बताए ।

युरोपियन युनियनले सन २०१३ को डिसेम्बरदेखि नेपाली हवाई उड्डयनलाई कालो सूचीमा राखेको कारण नेपालका कुनैपनि विमान युरोपमा उडान गर्न पाउँदैनन् । यसबाट अन्य देशका गन्तव्यमा जानसमेत स्वीकृतिका लागि समस्या हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्