वरिष्ठ गायक जगतमर्दन थापाको निधन



काठमाडौं : वरिष्ठ गायक जगतमर्दन थापाको थापाथर्लीिथत नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको छ ।

जगतमर्दनका छोरा मोहितमर्दन थापाले नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार बिहान १० बजे उनको निधा भएको बताए ।

कोरोना संक्रमणपश्चात् लगभग एक महिनादेखि ८५ वर्षीय जगतमर्दन अस्पतालमा उपचाररत थिए । झण्डै डेढ हप्ताअघि कोरोनामुक्त भए पनि छातीमा समस्या देखिएपछि थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

सप्तरीको बरमझियामा जन्मेका थापाले २०१३ सालबाट नै रेडियो नेपालबाट आफ्नो सांगीतिक तथा साहित्यिक यात्रा शुरु गरेका थिए । अध्ययनसँगै साहित्य र संगीतमा निरन्तर लागेका थापाले २०१८ सालमा नै कोलकाताबाट हिज मास्टर्स भ्वाइसमा ‘माया लुकाई लुक्दैन’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए । २०२१ सालमा उनले कथासंग्रह ‘पलाँसको फूल’ ल्याएका थिए ।

थापाले सञ्चय कोष, कृषि चुन उद्योग जस्ता निकायमा रहेर तीन दशकभन्दा लामो सरकारी सेवा गरे । ५० को दशकमा जागिर जीवनपछि पुनः उनी सांगीतिक क्षेत्रमा सक्रिय भएका थिए । यसै क्रममा उनले ‘४० वर्ष अघि र ४० वर्ष पछि’, ‘मनको शान्ति’, ‘माया लुकाई लुक्दैन’, ‘म पतझड तिमी मधुमास’, ‘म मक्किएको धुरी खाँबो’ जस्ता एल्बम ल्याए । थापाले ६४ वर्षका उमेरमा शास्त्रीय संगीतको ज्ञानलाई निरन्तरता दिई ७३ वर्षमा भारतको इलाहावाद संगीत विश्वविद्यालयबाट प्रथम श्रेणीमा ‘बी म्युज’ उत्तीर्ण गरेका थिए ।

थापाका एक छोरा र तीन छोरी छन् । छोरा मोहितका अनुसार थापाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।

प्रकाशित : मंसिर २२, २०७७

प्रतिक्रिया दिनुहोस्