सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरेको आरोपमा तीन जना पक्राउ



काठमाडौं : सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराधमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–९ बस्ने विवेक महर्जनसहित कास्कीको पोखरा महानगरपालिका बस्ने अन्य दुई जना रहेको प्रहरीको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ । 

ती दुई जनाको अनुसन्धान बाँकी नै रहेकाले नाम नखुलाइएको ब्यूरोले जनाएको छ ।

‘ह्याकर्स हन्ट अपरेसन’ सञ्चालन गरी विशिष्टीकृतरूपमा प्राविधिक विश्लेषण र अनुसन्धानमार्फत उनीहरूलाई पक्राउ गर्न सफल भएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए । 

उनीहरूले अनधिकृतरूपमा सरकारी सूचना प्रवाह गरी विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद ९ बमोजिमको कसुर गरेकाले अनुसन्धान भइरहेको ब्यूरोले सोमबार जारी गरेको सूचनामा जनाइएको छ । (रासस)

प्रकाशित : मंसिर २३, २०७७
 

प्रतिक्रिया दिनुहोस्