प्रधानमन्त्री ओलीको राजीनामा माग्नु जनमतको जनादेश विपरीत : मुख्यमन्त्री गुरुङ



लमजुङ : प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु भनेको बिजुदीको सट्टा अगुल्टो खोज्नुजस्तै भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

उदिपुर–रिठ्ठेवगर–रामचोकबेसी–नौथरबेँसी–शेरा कालोपत्रे सडकको बेँसीशहर नगरपालिका–११ चितीमा शिलान्यास कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री गुरुङले एकीकृत कम्युनिष्ट पार्टी निर्माणको यो अभियानमा दुई अध्यक्षको महत्वपूर्ण योगदान रहेकाले उनीहरुको संवाद र सहकार्य अपरिहार्य रहेकाले यतिबेला सरकार गिराउने र पार्टी अध्यक्ष परिवर्तन गर्ने समय नरहेको बताए ।

नेकपा स्थायी कमिटीका सदस्यसमेत रहेका गुरुङले भने–‘यो सरकारलाई जनताले पाँच वर्षका लागि जनादेश दिएका छन्, पार्टी अध्यक्ष हुने हो भने महाधिवेशनसम्म पर्खनुपर्छ । पार्टी एकताको मर्म भनेको अल्पमत र बहुमतको खेल खेल्न होइन ।’ मुख्यमन्त्री गुरुङले एकताको मर्म भनेको दुई अध्यक्षले बैठकको एजेण्डा तय गरी सहकार्य र सहमतिमा अघि बढ्दै पार्टी एकताका बाँकी काम सम्पन्न गरी महाधिवेशन गर्नुपर्ने बताए ।

‘यो समय प्रचण्डले प्रधानमन्त्रीको राजीनामा र प्रधानमन्त्रीले प्रचण्डको राजीनामा माग्ने बेला होइन, एकले अर्कालाई आरोप लगाउने अधिकार पनि छैन,’ उनले भने ।

सरकारले अहिलेसम्म कुनै सरकार र प्रधानमन्त्रीले गर्न नसकेको काम गरेको छ । यो सरकार पाँच वर्ष टिक्छ । राजीनामा माग्नु जनमतको जनादेश विपरीत हुन्छ । जहाँसम्म पार्टी अध्यक्षको कुरा छ त्यो महाधिवेशनले तय गर्ने उनले बताए ।

गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको यो सडक ७.१२१ किलोमिटर कालोपत्र हुने भएको छ । सडकको लागत रु २६ करोड २९ लाख छ हजार २२५ रहेको छ भने दुई वर्षभित्र सम्पन्न हुनेछ । सडकको निर्माण कन्टेक निर्माण प्राइभेट लिमिटेड काठमाडौंले गरेको छ ।

प्रकाशित : मंसिर २४, २०७७

प्रतिक्रिया दिनुहोस्