सुदूरपश्चिमका जनप्रतिनिधि, नेता तथा कार्यकर्ता मनोवैज्ञानिक त्रासमा



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड—माधव पक्षबीच केन्द्रमा देखिएको विवाद प्रदेश, जिल्ला हुँदै वडासम्म पुगेको छ । पार्टीको केन्द्रमा जारी विवादको असर तल्लो तहसम्मका कमिटि तथा नेता कार्यकर्तामा देखिन थालेको छ ।

संविधान निर्माणपछिको पहिलो आम निर्वाचनमा चुनावी गठबन्धन गरी २०७५ जेठ ३ गते नेकपामा रुपान्तरण भएका तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले नेपालमा कम्युनिष्ट पार्टीको एउटै शक्ति केन्द्र निर्माण गर्ने सपना बोकेका थिए । तर, त्यसको तीन वर्ष नपुग्दै नेताहरु पार्टीभित्रै ध्रुविकरणको अवस्थामा पुगेका छन् । नेताहरुबीच गम्भीर राजनीतिक एवं सत्ता केन्द्रित ‘दन्तबझान्’ सुरु भएको छ । एक अर्काप्रतिको तुष सार्वजनिक रुपमै छताछुल्ल हुन थालेपछि पार्टी गम्भीर संकटको सम्मुखमा छ ।

६ बुँदे घोषणापत्र जारी गरी शीर्ष नेताहरुले देश र जनताको चाहना पूरा गर्न पार्टी एकता गर्ने घोषणा गरेका थिए । तर, त्यो घोषणा र संकल्प पुरा नहुँदै नेकपा ओली, प्रचण्ड र माधव समूहको स्वार्थको चेपुवामा परेको छ । बहसमा विधि, पद्धति र पार्टी अनुशासनको कुरा उठे पनि सत्ता, शक्ति र पदको मोहले नेकपा फुटको संघारमा पुगेको विश्लेषण हुन थालेको छ । अध्यक्षद्वयले एकअर्कालाई गम्भीर आरोपहरु लगाउँदै सचिवालयमा पेश गरेका पत्र र जवाफी प्रतिवेदनपछि माहोल बिग्रिदै गएको छ । ति पत्र र प्रतिवेदन तल्लो तहका कार्यकर्ताहरुसम्म पुगेपछि त्यहाँ पनि गुटअनुसार धारणा निर्माण हुने क्रम सुरु भएको देखिन्छ । पछिल्ला गतिविधिको असर केन्द्रमा मात्र नभई प्रदेश र जिल्लासम्म पुगेको छ ।

पार्टी एकताको बेला गरेको सहमतिअनुुसार २ वर्षभित्र महाधिवेशन गरी त्यहींबाट पार्टीको नयाँ वैचारिक कार्यदिशा र नयाँ नेतृत्व चयन गर्ने भनिएको थियो । तर, नेतृत्व वर्गमै देखिएको आपसी विवाद र खिचातानीले कुनै पनि कार्यभार पूरा हुन सकेको छैन ।

आन्तरिक विवादकै कारण पार्टीको सबै काममा प्रभाव परेको छ । अहिले पार्टीमा गुटगत भेला, एक अर्कोप्रति आरोप–प्रत्यारोपबाहेक पार्टी एकताको काम र महाधिवेशनको तयारी पनि अवरुद्ध भएको छ । पार्टीको विवादले केन्द्र सरकारको गतिविधि एवं कार्यसम्पादनमा त असर परिनै रहेको छ । केन्द्रका छिनाझम्टी, गुटगत पैरवीले प्रदेश र पालिकासम्म पनि असर परेको नेता कार्यकर्ताहरुले बताएका छन् । पार्टीमा मात्रै होइन त्यसको असर संघ हुँदै प्रदेश सरकार, पालिका र वडासम्म पनि फैलिसकेको छ ।

केन्द्रमा पार्टीको विवाद र गुटगत राजनीतिले सुदूरपश्चिम प्रदेशलाई पनि प्रत्यक्ष रुपमा छोएको छ । सुदूरपश्चिम प्रदेशमा केन्द्रको जस्तै समीकरण छ । त्यहाँ पनि अध्यक्ष एवं प्रधानमन्त्री ओलीको गुट एकातिर छ भने अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालको गुट एक ठाउँमा छन् । सुदूरपश्चिम प्रदेशमा अहिले स्थायी कमिटी सदस्य भिम रावल र लेखराज भट्टको गुट व्याप्त छ । रावल नेपाल निकट नेता हुन् भने भट्ट पूर्व माओवादी तथा प्रचण्ड निकटका नेता भए पनि अहिले समीकरण बदलेर ओलीतिर गएको चर्चा हुने गरेको छ । सोझो अर्थमा सुदूरपश्चिममा ओली र नेपाल गुट बढी हाबी छ ।

सुदूरपश्चिम प्रदेशमा नेकपाको दुई तिहाई बहुमतको सरकार छ । ५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिमा नेकपाका मात्रै ३९ जना रहेका छन् । जसमा पूर्व एमालेका २५ र पूर्व माओवादीका १४ जना प्रदेशसभा सदस्य छन् ।

अहिले केन्द्रकोजस्तै तत्कालिन दुई पार्टीबाट निर्वाचित जनप्रतिनिधिमा मात्र होइन एउटै पार्टीबाट निर्वाचित जनप्रतिनिधिबीच पनि सम्बन्ध बिग्रिने अवस्था आएको छ । जसले प्रदेश र स्थानीय तहको काममा असहज अवस्था सिर्जना गरिदिएको नेताहरुले बताउन थालेका छन् । कैलालीमा १४ स्थानीय तहमध्ये ९ मा नेकपाको सरकार छ, जसमध्ये ७ मा पूर्व एमाले र २ तहमा पूर्व माओवादीको नेतृत्व छ ।

प्रदेश सह–इन्चार्ज खगराज भट्टले पार्टीभित्र विवाद चलिरहँदा सुदूरपश्चिम प्रदेशमा त्यसको मनोवैज्ञानिक असर तथा प्रभाव परे पनि छिट्टै समाधान हुने विश्वास गरे ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिव ओलीले पनि विवादले सिङ्गो पार्टी जीवनलाई नै असर एवं प्रभाव पारेको बताए । सरकारमा रहेका मुख्यमन्त्री, मन्त्री पार्टीको जिम्मेवार नेता भएकाले सरकारमा केन्द्रित हुनुका साथै पार्टीको अन्तरसंघर्षमा सल्लाह, सुझाव दिने गरी आफ्नो भूमिका त्यहाँ पनि बढाउनुपर्ने भएकाले केही न केही प्रभाव पारेको ओलीको मत छ ।

यसैगरी जिल्ला समन्वय समितिका प्रमुख सूर्य थापाले स्थानीय निकायमा तत्काल समस्या नदेखिए पनि पार्टीको विवाद कुन हदसम्म जान्छ भन्ने चित्ताले सम्पूर्ण ध्यान काम कारवाहीमा दिन नसकिएको बताए ।

खगराज भट्ट
प्रदेश सह–इन्चार्ज

नेकपाभित्रको विवादलाई कसरी लिनुभएको छ ?
नेकपा गतिशील र असाधारण कर्तव्यले भरिएको पार्टी भएकाले स्वभाविक रुपमा ती उद्देश्य प्राप्तिका लागि असाधारण चुनौती पनि छन् । यी चुनौतीलाई चिर्न र निश्चित दायित्व पूरा गर्न यस प्रकारका बहस र छलफलबाट गुज्रिनुपर्छ नै । व्यक्ति–व्यक्तिबीच, नेताबीच, नेता र कार्यकर्ताबीचको सम्बन्धलगायत समग्र क्षेत्रमा आपसी विश्वास, एकता, समझदारी, सहमति र एक प्रकारको साझा बुझाईको वातावरण बन्न बहस र छलफल आवश्यक छ । त्यसैले हामीले के बुझेका छौ भने जति बहस हुन्छ त्यति नै सकारात्मक र रचनात्मक परिणाम ल्याउँछ ।

सैद्धान्तिक कुरा त्यो होला तर व्यवहारमा पार्टीभित्रको विवादले सुदूरपश्चिमका नेता तथा कार्यकर्तामा निराशा पैदा भएको छ नि?
सिंगो राष्ट्र र पार्टीको अनुभूतिभन्दा बाहिरको छुटै अनुभूति हाम्रो केही पनि छैन । हामीले यो विषयलाई के बुझेका छौ भने अहिलेको बहसले पार्टीलाई नीति र विचारप्रति अझै दृढतापूर्वक उभ्याउने, सरकारको कामलाई प्रभावकारी तुल्याउने जनताको अपेक्षा अनुुुसारको काम गर्ने, राष्ट्रको आवश्यकतानुसार सरकार चलाउने विषयमा मूलभूत रुपमा यो बहस केन्द्रित छ ।

पार्टीको विवादले नेकपाको कामलाई प्रभाव पारेको छ कि छैन ?
पार्टीभित्र विवाद, बहस भइसकेपछि एक प्रकारको आरोप–प्रत्यारोप हुनु र त्यसले पार्टीको संगठनात्मक, राजनीतिक, वैचारिक एवं भावनात्मक सहयात्राको जीवनमा असर त परि नै हाल्छ ।
तर, बहस, छलफलकै बीचबाट झन् ठूलो एकता, विश्वास र गतिशीलताको लागि यो बहस गर्दैछांै । त्यसैले हामी के कुरामा विश्वस्त छौ भने इतिहासले हामीलाई जुन जिम्मेवारी दिएको छ त्यसका लागि गम्भीर चुनौतिको बिन्दुमा उभिएका छौ । त्यो सम्भावनाका बारेमा सोच्न र ती चुनौतिको सामना गर्ने ल्याकत राख्ने पार्टी बनाउनको लागि यो बहस आवश्यक छ । त्यसैले अहिले केही नकारात्मक रुपमा प्रभाव पारे पनि ढिलो–चाँडो समाधानको परिणाम ल्याउँछ भन्ने विश्वास छ ।

पार्टीभित्र देखिएको विवाद र समस्याको समाधान कसरी होला त अब ?
हाम्रो पार्टीको इतिहासले के देखाउँछ भने हाम्रो नेतृत्वले योभन्दा ठूला चुनौतिलाई पनि समाधान गरेका छन् । नेतृत्वले विभिन्न समस्या समाधान गर्दै सबै प्रकारका गलत चिन्तन र प्रवृत्तिमा विजयप्राप्त गरेर यहाँसम्म आएको हुनाले हामीलाई हाम्रो नेतृत्वको क्षमता, कुशलता, हाम्रो संगठनको सामथ्र्यमाथि विश्वास मात्र होइन हामी ढुक्क पनि छौं । त्यसैले जति उत्कर्षमा बहस भएपनि यो बहसले अन्ततः निष्कर्षमा पु¥याउँछ भन्ने हामीलाई विश्वास छ ।

तपाईको विचारमा समस्याको समाधान के हुन सक्छ ?
पार्टीमा देखिएको समस्या समाधान त प्रष्ट छ । पहिलो कुरा त हाम्रो पार्टीको वैचारिक–राजनीतिक उद्देश्य प्रष्ट हुनुपर्छ । विधिमा आधारित भएर चल्नुपर्छ । सामूहिक विश्वासको वातावरण पैदा हुनुपर्छ । यसको संगठनात्मक जीवन गतिशील हुनुपर्छ । जनता र राष्ट्रप्रति दायित्व बोकेको हुनाले लक्ष्यप्राप्त गर्ने सामथ्र्य राख्नु पर्छ । सरकारलाई जनताको विश्वसमा लैजानु पर्छ । राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा नेपालको स्वाभिमानलाई नयाँ उचाइमा पुर्याउनुपर्छ ।

शिव ओली
प्रदेश कमिटी सदस्य तथा मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव

तपाईले नेकपाभित्रको विवादलाई कसरी हेरिरहनु भएको छ ?
नेकपाको विवाद पछिल्लो समयमा जुन उत्कर्षमा देखापरेको छ यो मूलभूत रुपमा एउटा विचार, संगठन र पार्टी निर्माण कै निम्ति केन्द्रित देखिन्छ । यसका साथै व्यक्तिवादी महत्वकांक्षा, अवसरवादी प्रवृत्ति पनि देखिएको छ । यसलाई छलफलबाट अन्त्य गर्नुपर्छ भन्ने अधिकांश नेता तथा कार्यकर्ताको मत छ । तर, अहिले आएर पार्टीमा असहिष्णुता बढ्ने क्रम पनि देखिन्छ ।

पार्टीभित्रको विवादले सुदूरपश्चिम प्रदेश सरकारलाई कुनै असर परेको छ कि छैन ?
यसले सिङ्गो पार्टी जीवनलाई नै असर एवं प्रभाव पारेको छ । सुदूरपश्चिममा नेकपाको बहुमतको सरकार छ । सरकारमा रहेका मुख्यमन्त्री, मन्त्री पार्टीको जिम्मेवार नेता भएकाले सरकारमा केन्द्रित हुनुका साथै पार्टीको अन्तरसंघर्षमा सल्लाह, सुझाव दिने गरी आफ्नो भूमिका त्यहाँ पनि बढाउनुपर्ने भएकाले केही न केही प्रभाव पार्छ नै । पार्टीको अन्तरसंघर्षमा सहभागी हुँदा, त्यसमा भूमिका बढाउँदा अथवा पार्टीलाई एकता गराउने कुरा विभिन्न नेता तथा कार्यकर्तासंँगको संवाद र छलफलमा भाग लिँदा केही न केही असर त गर्छ नै ।

पार्टीको विवादले सबै ठाउँमा असर पारेको छ । तर, अहिले सुदूरपश्चिम प्रदेश सरकार, प्रदेश संसद, स्थानीय कमिटीमा व्यवस्थित छलफल नपुगेको कारणले धेरै प्रभाव पारेको छैन ।

पार्टीको गुटगत विवादले मन्त्रीहरुबीच सम्बन्धमा मनमुटाव पनि आएको होला नि?
प्रदेश मन्त्रीहरुबीच अहिले त्यस्तो कुनै प्रकारको मनमुटाब छैन र सम्बन्ध पनि बिग्रेको छैन । प्रदेश सरकारमा माथिको गुटको प्रत्यक्ष असर, प्रभाव, गुटगत छलफल, भेला, फरक विचार भएका नेताहरुको कारणले प्रदेश सरकारमा मत मतान्तर देखिएको छैन । तर, यसले छलफलमा प्रभाव गर्यो भने एउटा विचार समूह निर्माण गर्ने र सरकार संसदमासमेत नेकपालाई प्रभाव पार्छ । त्यसकारण यो रणनीति तथा दीर्घकालीन महत्व राख्ने विषय भएकाले पनि केन्द्रीय कमिटीमा देखिएको समस्या समाधान हुन्छ भन्नेमा विश्वास छ ।

सूर्य थापा
कैलाली जिल्ला समन्वय समिति प्रमुख

नेकपाभित्रको विवादले कैलालीका स्थानीय तहलाई कस्तो असर गरेको छ?

पार्टीभित्रको विवाद नेताबीचको विवाद हो । आपसी विवाद भएपनि पार्टीले समस्या समाधान गर्छ । नेताहरुले माथि जस्तो बनाए तलसम्म त्यस्तै जाने हो । कैलालीका स्थानीय तहमा तत्काल त्यस्तो केही प्रभाव परेको छैन । तथापि विवादका कारण अब के हुन्छ भन्ने मनोवैज्ञानिक त्रासले कार्यसम्पादनमा सम्पूर्ण ध्यान लगाउन भने केही समस्या छ ।

पार्टीको विवादपछि प्रमुख–उपप्रमुखबीचको सम्बन्धमा नि ?
सामान्य विषयमा मनमुटाब बेग्लै कुरा हो । सबै पार्टीका गुट छन् । असरपर्ने खालको होइन । कैलालीको हकमा गुट र विवादले गर्दा स्थानीय तहको काममा कुनै प्रकारको असर तथा प्रभाव पारेको छैन । सबैले काम गरिरहेका छन् तर सामान्यतया पार्टीगत हिसाबले गुटगत कुराले अलिकति असर पारिहाल्छ ।

प्रतिक्रिया दिनुहोस्