सुपथ मूल्य पसलमा नुन मात्रै, चिनी गाेदाममै थन्कियाे



धनगढी : नेपालीहरुका ठूला चाडपर्व दसैं, तिहार र छठलाई लक्ष्य गरी सञ्चालित सुपथ मूल्य पसलका लागि आएको चिनी साल्ट ट्रेडिङ्गको गोदाममै थन्किएको छ ।

 

सरकारले मूल्य निर्धारण नगर्दा सरकारी संस्थान साल्ट ट्रेडिङ्गले सुपथ मूल्य पसलबाट सहुलियत दरमा चिनी बिक्री गर्न नसकेको हो । चिनीको मूल्य निर्धारण नभएपछि ट्रेडिङ्गले सुदूरपश्चिम प्रदेशका सात ठाउँमा सञ्चालन गरिरहेको सुपथ मूल्य पसलमा नूनमात्र बिक्री भइरहेको छ ।

 

सुपथ मूल्य पसलबाट दसैंअघिदेखि नै चिनी बिक्री गर्ने तयारी भए पनि आपूर्ति मन्त्रालयको निर्देशनपछि रोकिएको साल्ट ट्रेडिङ्ग क्षेत्रीय कार्यालय धनगढी प्रमुख सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेयले बताए ।

 

साल्ट ट्रेडिङ्गको क्षेत्रीय कार्यालय र अन्य ठाउँमा रहेका डिपोमा करिब साढे ५ सय क्विन्टल चिनी झण्डै एक महिनादेखि थन्किएको पाण्डेयले बताए । ‘मूल्य निर्धारण नभएको भन्दै चिनिको बिक्री रोक्न भनेर असोज १४ गते आपूर्ति मन्त्रालयले निर्देशन दिएको थियो ।’

 

उनले भने, ‘मन्त्रालयको निर्देशनले सुपथ मूल्य पसलबाट चिनी बिक्री नै शुरु गर्न पाएनौं ।’ सरकारले चाडपर्वलाई लक्षित सुपथ मूल्य पसलबाट बिक्री गर्न चिनी मूल्य प्रतिकिलो ७० रुपैया निर्धारण गरेको थियो । तर संसदको सार्वजनिक लेखा समितिले चिनीको मूल्य प्रतिकिलो ६३ रुपैया कायम गर्न सरकारलाई निर्देशन दिएपछि अहिले देशभरनै सुपथ मूल्य पसलबाट चिनीको बिक्री वितरण रोकिएको साल्ट ट्रेडिङ्गका सहायक महाप्रबन्धक पाण्डेयले बताए ।

 

७७ रुपैयाँ प्रतिकिलोमा आयात गरिएको चिनी ६३ रुपैयामा बेच्दा साल्ट ट्रेडिङ्गनै टाट पल्टिने भन्दै बिक्री रोकिएको बताइएको छ । चाडपर्वमा अरुबेला भन्दा चिनीको खपत बढी हुन्छ । सरकारले हरेक वर्ष दसैं, तिहारका बेला सर्वसाधारणलाई सहुलियत दिन बजारको भन्दा कम मूल्यमा चिनी र नून बिक्री गर्दै आएको छ ।

 

तर यस पटक सहुलियत दरका मूल्य पसलबाट चिनी बिक्री नभएपछि बजारबाट महङ्गोमा चिनी किन्नुपरेको गुनासो सर्वसाधारणले गरेका छन् । साल्ट ट्रेडिङ्गले चिनीको मूल्य प्रतिकिलो ७० रुपैया तोकेको थियो । धनगढीमा अहिले चिनीको मूल्य प्रतिकिलो ८० रुपैयाँ र पहाडी जिल्लामा प्रतिकिलो ९५ रुपैयासम्म पर्छ ।

 

‘चाडपर्वका बेला बजारमा चिनीको मूल्यमा व्यापारीको मनोमानी छ । सरकारले सहुलियत दरमा चिनी बिक्री गरेको भए बजारमा चिनीको मूल्य नियन्त्रण हुन्थ्यो ।’ धनगढीका स्थानीय अंकित जोशीले भने, ‘चाडपर्वमा समेत सर्वसाधारणले सहुलियत पाएनन् ।’ साल्ट ट्रेडिङ्गका सहायक महाप्रबन्धक पाण्डेयले सहुलियत दरमा चिनी नपाउँदा उपभोक्ता ठूलो मारमा परेका बताए ।

 

‘बजार र हामीले बेच्ने मूल्यमा धेरै फरक छ । चाडपर्वका बेला उपभोक्ताले महङ्गोमा चिनी किन्नु पर्याे ।’ उनले भने, ‘सुपथ मूल्यमा चिनी पनि राख्नु पर्यो भनेर जनस्तरबाट दबाब आइरहेको छ ।’ सुपथ मूल्य पसलमार्फत् बिक्रीका लागि आएको चिनी थन्काउनु परेपछि भण्डारणमा समस्या भएको साल्ट ट्रेडिङ्गले जनाएको छ ।

 

सुदूरपश्चिम प्रदेशका सात ठाउँमा साल्ट ट्रेडिङ्गले सुपथ मूल्य पसल सञ्चालन गरिरहेको छ । तीमध्ये ५ ठाउँमा चिनी पुर्याइएको साल्ट ट्रेडिङ्गले जनाएको छ । पहाडी जिल्लामा पुर्याइएको चिनी भण्डारणमा समस्या भएको सहायक महाप्रबन्धक पाण्डेयले बताए ।

 

लामो समयसम्म भण्डारण गरेर राख्दा पग्लने, चिनीका बोरामा मुसाले काटेर क्षति पुर्याउने जोखिम रहेको उनले बताए । ‘पहाडी क्षेत्रमा स्तरीय गोदाम छैनन् । त्यसैले लामो समयसम्म भण्डारण गरेर राख्दा पग्लने, गल्ने र मुसाले क्षति गर्ने जोखिम छ ।’ उनले भने, ‘चिनीको बिक्री छिटो खोल्न आग्रह गरिरहेका छौं ।’ १२ असोजदेखि संचालन गरिएका सुपथ मूल्य पसल २७ कार्तिकसम्म संचालन हुनेछन् ।

 

गत वर्ष दसैं–तिहारका अवसरमा सुदूरपश्चिम प्रदेशमा सञ्चालन गरिएका सुपथ मूल्य पसलबाट साल्ट ट्रेडिङ्गले १ लाख ३९ हजार ७ सय ७३ किलो चिनी र ९७ हजार ८ सय ६५ किलो नून बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्