कोरोना संक्रमणका कारण भारतका वरिष्ठ कवि एवं पत्रकार मंगलेशको मृत्यु



नयाँदिल्ली : भारतका वरिष्ठ कवि तथा पत्रकार मंगलेश डबरालको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बुधबार बेलुका दिल्लीको उम्स अस्प्तालमा उपचारका क्रममा ७२ वर्षका कवि तथा पत्रकार डबरालको मृत्यु भएको साहित्यकार आनन्द स्वरुप बर्मालाई उद्धृत गरी बिबिसी हिन्दीले लेखेको छ ।

साहित्य एकेडेमी पुरकारबाट सम्मानित कवि–लेखक डबराल समकालीन हिन्दी कविहरुमा चर्चित थिए । साहित्य तथा पत्रकारिता जगतका व्यक्तिहरुले उनको निधनमा दुःख व्यक्त गरेका छन् ।

डबरालका ‘पहाड पर लालटेन, घर का रास्ता, हम जो देखते हैं, आवाज भी एक जगह है र नये युग में शत्रु’ सहितका कविता संग्रह छन् ।

मंगलेश डबरालले कविता, डायरी, गद्य, अनुवाद, सम्पादन, पत्रिकारिता र पटकथा लेखनसहितका साहित्य क्षेत्रका विविध विधामा कलम चलाएका छन् ।

उनले नागार्जुन, निर्मल वर्मा, महाश्वेता देवी, युआर अनन्तमूर्ति, कुर्रतुल ऐन हैदर र गुरुदयाल सिंहमा केन्द्रित वृत्त चित्रका पटकथा लेखेका थिए ।

सन् १९४८ को मे १४ मा उत्तराखण्डको टिहरी गढवालको काफलपानी गाउँमा जन्मिएका डबरालले देहरादूनमा अध्ययन सकिएपछि पत्रकारिता थालेका थिए ।

प्रकाशित : मंसिर २५, २०७७

प्रतिक्रिया दिनुहोस्