रसुवामा ६ वर्षीया बालिकाको अपहरणपछि घाँटी रेटेर हत्या



रसुवा : रसुवामा ६ वर्षीया बालिकाको अपहरणपछि हत्या भएको छ । जिल्लाको कालिका गाउँपालिका–१ फैलिगाङकी ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या भएको हो ।

अपहरणपछि बालिकालाई हत्या गर्ने नुवाकोटको किस्पाङ गाउँपालिकाकी १० वर्षीया सपना तामाङ पक्राउ परेकी छन् ।

आइतबार बिहान विद्यालय गएकी सुमिना साँझसम्म पनि घर नफर्किएपछि परिवारका सदस्यको निवेदनका आधारमा खोजी गर्दा कालिका गाउँपालिका–१ स्थित नागुर्दुङ भीरको ओढारमा घाँसले छोपिएको अवस्थामा मंगलबार बालिकाको शव भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी इन्द्र सुवेदीका अनुसार पक्राउ परेकी सपनाले सुमिनाको हत्या गरेको स्वीकार गरिसकेकी छन् ।

‘सपनाले चाउचाउ दिएर फकाइछन् र अलि पर लगेर बालिकाको कानका मुद्रा निकालिछन्,’ डिएसपी सुवेदीले भने । बालिकाको डोरीले घाँटी कसेर हत्या गरिएको हो ।

हत्यापछि सुमिनाले लगाएको स्कुलको ड्रेस फुकालेर उनकै झोलाभित्र राखेर झाडीमा फालिदिएको बयान सपनाले प्रहरीलाई दिएकी छन् । शव भेटिएको नजिकै बालिकाको झोला र चप्पल भेटिएको थियो । त्यहीँ नजिकै चाउचाउको प्याकेट पनि भेटिएको छ ।

हत्यामा संलग्न सपनामाथि सात दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको डिएसपी सुवेदीले जानकारी दिए ।

प्रकाशित : मंसिर २५, २०७७

प्रतिक्रिया दिनुहोस्