स्थायी कमिटी बैठक स्थगनपछि छलफलमाथि छलफल, निस्केला त निष्कर्ष ?



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २१ गते सुरु भएको स्थायी कमिटी बैठक एक साताको स्थगनपछि फेरि २८ गते बस्दैछ ।

गत २१ गतेको बैठकमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीति प्रस्तावलगायत समसामयिक विषयमाथि छलफल गर्ने कार्यसूचि थियो । तर, ओली सहभागी नभएपछि दुबै प्रस्ताव उपस्थित सदस्यहरुलाई वितरण गरियो र अध्ययन गर्नका लागि एक हप्ताको समय दिइयो ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले स्थायी कमिटीलाई अर्का अध्यक्ष प्रचण्डको प्रस्तावमाथि हुने छलफलमा आफू सहभागी हुन नसक्ने जानकारी दिइसकेका छन् । तर, आगामी रणनीति तयार गर्न ओली आफ्नो गुुटका नेताहरुसंग निरन्तर छलफलमा छन् ।

त्यसैगरी अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल गुटको छलफल पनि जारी छ । दुबै समूह आफ्नो पक्षमा माहोल बनाउन जोड्तोड्का साथ लागिरहेका छन् । अहिले अनौपचारिक संवाद भइरहेका छन् । नेताहरु सकेसम्म बैठकअघि नै एउटा साझा समझदारीमा पुग्ने र बैठकबाट त्यसैलाई अनुमोदन गर्ने तयारीमा छन् । तर, २८ गते बस्ने बैठक पनि अहिलेका छलफलको निष्कर्ष र ओलीको उपस्थितिमा निर्भर हुनेछ ।

एकपक्षीय र बहुपक्षी छलफल जारी
२१ गते पार्टी कार्यालय धुम्रबाराहीमा स्थायी कमिटीको बैठक जारी थियो । बैठकमा सबै सदस्य सहभागी भए । तर, ओली गएनन् बरु पत्र गयो । नेता ईश्वर पोखरेलमार्फत गएको पत्रमा ओलीले प्रचण्डको प्रस्तावलाई खारेज गरिसकेकोले त्यसै विषयमा हुने छलफलमा आफू सहभागी नहुने जानकारी दिए । प्रचण्डलगायतका केही नेताहरुले सामान्य कुराकानी गरी प्रस्तावहरु अध्ययनका लागि वितरण गरियो । बैठक २८ गतेका लागि स्थगित भयो । त्यसै दिन ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरे । त्यहीं दिन आफ्नो समूहका नेताहरुसंग छलफल गरे । त्यसयता दिनहुँ यहीं भइरहेको छ ।

दोस्रो दिन अध्यक्ष प्रचण्डलाई भेटेर महासचिव विष्णु पौडेलले दुबै अध्यक्षको साझा दस्तावेज बनाउने प्रस्ताव राखें । अर्का अध्यक्ष प्रचण्ड र माधव नेपाल समूहले पनि आफू पक्षीय नेताहरुसंगको भेट तिब्र पारेका छन् । उनीहरुबीच एक्लाएक्लै र सामूहिक भेट भइरहेको छ । तर, अहिलेसम्म ठोस् सहमति भने भइसकेको छैन ।

माधव नेपालमाथि ओलीको अविश्वास झन् बढ्दै
स्थायी कमिटी बैठक बस्न शुक्रबार र शनिबार मात्रै बाँकी छ । गएको पाँच दिनका छलफल निष्कर्षविहिन छन् । धेरै दिनको संवादहीनता तोड्दै ओली र प्रचण्डबीच गत बुधबार बिहान भेटवार्ता भयो । भेटमा ओलीले सहकार्यका लागि प्रस्ताव गरे । सहमति भएन । तर, माधव नेपालका बारेमा ओलीले ‘ ‘माधव नेपाल धोकेबाज हुन् उहाँलाई छोड्नुस् सहकार्य गरौं’ भने भनेर कुरा बाहिरियो ।

सुरुदेखि नै माधव नेपाललाई पेलेरै जाने रणनीति बनाएका ओलीको नेपालप्रति थप अविश्वास बढ्दै गएको छ । ओलीले प्रचण्डभन्दा नेपाल रिसाएको आँकलन गरी प्रचण्डलाई फकाएर भए पनि सहकार्य गर्ने मनसाय राखेको बुझाई छ । तर, त्यो सम्भावना भने न्यून रहेको नेताहरुको भनाई छ ।

दुबै पक्षका आ—आफ्नै रणनीति
ओलीसँग सचिवालयमा बहुमत नपुगेपछि विवाद स्थायी कमिटीमा पुगेको छ । त्यहाँ पनि प्रचण्ड र माधव नेपाल मिलिरहेसम्म ओली अल्पमत मै छन् । तर, ओलीले आफ्नो पक्षमा बहुमत पु¥याउन अभ्यास भने छोडेका छैनन् । त्यसका लागि तत्कालिन माओवादी पक्षका रामबहादुर थापा, लेखराज भट्टलगायत नेताहरुलाई फकाउने र आफ्नो पक्षमा लिने प्रयास जारी छ । तत्कालिन एमाले पक्षका नेताहरुलाई पनि भावनात्मक कुरा गरेर फकाउने प्रयास जारिरहेको नेताहरुले बताएका छन् ।

यो प्रयास सफल नभएमा बहुमत अल्पमतमा जाँदा प्रधानमन्त्री र अध्यक्ष पद नै धरापमा पर्ने डरले अर्को दुबै प्रस्तावलाई फिर्ता गराएर साझा दस्तावेज बनाउने अन्तिम रणनीतिमा पनि छलफल भइरहेको छ । त्यसका लागि ओलीले आफू पक्षका अरु नेताहरुलाई परिचालन गरेका छन् । महासचिव पौडेल र उपप्रधानमन्त्री पोखरेलले प्रचण्डलाई यो प्रस्ताव राखिसकेका छन् ।

यता प्रचण्ड—माधव नेपालले जसरी पनि ओलीलाई ‘सबक’ सिकाउने र ओली आफ्नो अडानबाट पछाडी नहटे बहुमतको निर्णय गरेरै भए पनि अगाडि बढ्ने रणनीति बनाइरहेका छन् । यदि सहमति हुने अवस्था आएमा प्रधानमन्त्रीले कम्तिमा एक पद छोड्नुपर्ने र सरकार सञ्चालनका सवालमा पनि लिखित रुपमै अगाडी बढ्ने प्रचण्ड—माधव समूहको तयारी छ । यो समूह बहुमतको खेल सुरु भएमा आफ्नो पक्षका नेताहरुलाई जोगाईराख्ने र तत्कालिन माओवादी पक्ष आफ्नै लाइनमा आउने विश्वास छ ।

स्थायी कमिटी बैठक र विवाद समाधानको अपेक्षा :
गत २१ गतेको बैठकपछि धेरै नेताहरुले प्रतिवेदन अध्ययन गरेर आगामी बैठकमा राख्ने धारणा पनि तय गरिसकेका छन् । तर, दुबै अध्यक्षको उपस्थितिमा कुरा राख्न पाए अवस्था सहज हुने धेरैको विश्वास पनि छ । तर, विवाद सिर्जना गरेर एउटा पक्ष बैठकमै सहभागी नहुने कदम पार्टीका लागि दुर्भाग्पूर्ण हुने स्थायी कमिटि सदस्य अष्टलक्ष्मी शाक्यको भनाई छ ।

विगतमा स्थायी कमिटीले पार्टीमा देखिएको समस्यालाई केही समयका लागि समाधान गरेकोले अब पनि सहमतीको सूत्र निकाल्ने धेरैको अपेक्षा छ । सहमतिबाटै विवाद समाधानको बाटो पहिल्याउनेमा ओलीले स्थायी कमिटीलाई बढी विश्वास गरेका छन् ।

नेकपा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले पनि स्थायी कमिटी बैठकलाई पार्टीभित्रको विवादलाई समाधान गर्ने उपयुक्त थलोको रुपमा हेरेका छन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले छलफल सकारात्मक रुपमा अगाडी बढिरहेकोले स्थायी कमिटी बैठकले एउटा निष्कर्ष दिने बताए ।
शाक्य, नेम्वाङ र प्रवक्ता श्रेष्ठको भनाईः

अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य,
अध्यक्ष ओली २१ गते बैठकमा नआएपछि उहाँलाई २८ गतेको बैठकमा कसरी ल्याउने भन्ने विषयमा अहिले छलफल चलिरहेको छ । यदि ओली बैठकमा सहभागी नभए उहाँको प्रस्तावमा छलफल हुनसक्दैन र त्यसको जवाफदेही ओलीले नै हुनुपर्छ । पार्टी अहिले सबैभन्दा अप्ठ्यारो र इतिहासमै सबैभन्दा संकटको अवस्थामा छ ।

नेकपाको भविष्य एक वा दुई जना नेतासंग मात्र होईन लाखौ कार्यकर्तासँग गाँसिएको छ । कार्यकर्तामा पार्टी फुट्छ कि भन्ने चिन्ता र त्रास छ । त्यसैले ओलीलाई सम्झाउने बुझाउने क्रममै छौ । एकता प्रक्रिया अगाडि नबढ्दा पार्टी कमिटी, जनसंगठनहरुका गतिविधि ठप्प छन् । अब २८ गते बस्ने स्थायी कमिटी बैठकमा सबै सदस्यले बोल्नुपर्छ । सबैले आफ्नो विचार राख्न २/४ दिन समय लाग्ला तर निकास निकाल्नै पर्छ । समस्या आएपछि समाधान हुन्छ । समाधानका उपाय पनि छन् । अब स्थायी कमिटीले जे निर्णय गर्छ जे प्रस्ताव गर्छ त्यो सबैले मान्नु पर्छ ।

कमरेड ओलीले पनि बैठक, छलफलबाट भागेर हुँदैन । पहिलो अध्यक्ष भन्ने तर छलफलमा भाग नलिने ? उहाँ बैठकमा आउनु पर्छ । आलोचना सुन्नु पर्छ । प्रतिवेदनमाथि बैठकमा प्रष्ट जवाफ दिनु प¥यो । व्यक्ति पार्टीभन्दा माथी हुँदैन, त्यसैले पार्टीले छाड्नु पर्छ भने छाड्नु तयार हुनुपर्छ उहाँ । नेतृत्वले देश र पार्टीलाई ठप्प पारेर हँुदैन । उहाँले देश चलाउन सक्नुहुन्न, गणतन्त्र जोगाउन सक्नुहुन्न भन्ने बैठकले ठहर ग¥यो भने मान्नुपर्छ ।

सुवास नेम्वाङ, स्थायी कमिटी सदस्यः
अहिले औपचारिक र अनौपचारिक छलफल चलिरहेको छ । पार्टी एक ढिक्का, एकताबद्ध हुनुको विकल्प नै छैन । त्यसका लागि छलफल जारी छ । यो बीचमा दुई अध्यक्षबीच पनि छलफल भइरहेको छ । छलफलबाट निष्कर्ष निस्किन्छ ।

यसअघि पनि स्थायी कमिटीले नै समस्याको समाधान गरेकोले फेरि पनि त्यहीं बैठकले निष्कर्ष निकाल्ने विश्वास छ ।

नारायणकाजी श्रेष्ठ, पार्टी प्रवक्ता
छलफलमार्फत एउटा एजेन्डा बनाएर पार्टीमा देखिएको संकटको समाधान गरिने छ । स्थायी कमिटीमा प्रस्तुत भएको प्रस्ताव स्थायी कमिटीका सदस्यलाई अध्ययन गर्न दिएको छ र यो समयमा सबै नेता अध्ययनमा लागेका छन् । एकपक्षीय बहुपक्षीय जारी रहेकोले आगामी बैठकबाट नयाँ सहमति र समझदारी हुनेछ । पार्टीलाई एकताबद्ध राख्न हामी सबै चिन्तित छौं । विवाद पार्टी कमिटीमा गइसकेकोले त्यहाँबाट निस्किने निष्कर्ष पार्टीहितमा हुने विश्वास छ ।

अन्तमा, दुई वर्ष अगाडि तामझाम र उत्साहका साथ पार्टी एकीकरण गरेका दुई ठूला कम्युनिष्ट पार्टी यति चाँडै विवाद रुमल्लिने अपेक्षा गरिएको थिएन । तर, पनि विवादहरु आएका छन् । सत्तारुढ दलको विवादले सिंगो देश रणभूल्लमा छ । एकपछि अर्काे अडकल काँडिएको छ । सरकार एवं प्रधानमन्त्री स्वयम्ले पुनरुत्थानवादीहरुको चहलपहल बढेको निष्कर्ष निकालिसकेको अवस्थामा स्थिरता, शान्ति र समृद्धिका लागि पनि नेकपा र अरु कोही पार्टीभित्रको बिग्रह चिन्ताको विषय हो । दलहरुका गतिविधि थप समस्याको कारण बन्नु हुँदैन । आम जनताले यहीं भनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्