ट्रम्पलाई अर्को धक्का, सर्वोच्चले खारेज गर्‍यो चार राज्यको मत बदर गर्ने माग



अमेरिका : अमेरिकी राष्ट्रपतीय निर्वाचनमा पराजित भएका डोनाल्ड ट्रम्पलाई अर्को धक्का लागेको छ । राष्ट्रपतीय निर्वाचनमा पराजित भएको चुनावको नतिजा आफ्नो पक्षमा उल्ट्याउने प्रयासमा ट्रम्प असफल भएका हुन् ।

ट्रम्पको समर्थनमा टेक्सास राज्यले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले खारेज गरेको हो ।

टेक्सासका महान्यायाधीवक्ताले गएको नोभेम्बर ३ मा भएको राष्ट्रपति चुनावमा जो बाइडेन विजयी भएका चार ब्याटलग्राउण्ड राज्यहरु जर्जिया, मिसिगन, पेनसिलभेनिया र विसकन्सिनको नतिजा अवैध गर्न माग गरी सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

सर्वोच्चले स्थानीय समय अनुसार शुक्रबार बेलुका सो मुद्दामा फैसला दिएको हो । सर्वोच्चले संक्षिप्त आदेशमा सो माग खारेज गरेको हो ।

मुद्दामा १९ राज्यका महान्यायाधीवक्ता र १२७ रिपब्लिकन सांसदहरुले समर्थन गरेका थिए । तर, सर्वोच्चले टेक्सास राज्यसँग यस्तो मुद्दा ल्याउने कानूनी अधिकार नरहेको बताएको हो ।

सर्वोच्चले फैसलामा भनेको छ, ‘अर्को वा अरु राज्यको चुनावका सम्बन्धमा मुद्दा ल्याउँदा कानूनी आधार छैन ।’

यसअघि गएको मंगलबार सर्वोच्च अदालतले ट्रम्पको चुनावी अभियान तथा रिपब्लिकनहरुले पेन्सिलभेनियामा बाइडेनको जितलाई आधिकारिकता प्रदान नगर्न माग गरी दायर गरेको मुद्दा खारेज गरेको थियो । अमेरिकी सर्वोच्च अदालतमा हाल कन्जरभेटिभ न्यायाधीशको ६–३ को बहुमत छ ।

ट्रम्पले लगातार बिना कुनै प्रमाण र निर्वाचन सुरक्षा तथा अनुगमन अधिकारीको प्रमाणयुक्त भनाई विपरित चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित : मंसिर २७, २०७७

प्रतिक्रिया दिनुहोस्