१४ औं महाधिवेशनका गतिविधि र सरकारविरुद्धको आन्दोलन एकसाथ: कृष्णप्रसाद सिटौला



‘साथीहरुले झापामा हजारौं जनताको सहभागीतामा विशाल आन्दोलन गर्ने तयारी गरिरहेका छन् । म नभ्याउने भए तपाईँ जानुहुन्छ ?’ शुक्रबार बिहानै कांग्रेस नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला फोनमा यस्तै कुरा गर्दै थिए । एकैछिनपछि अर्को फोन आयो । ‘कम्तिमा पनि दश हजारको सहभागीता हुनुपर्छ, सबै निर्वाचन क्षेत्रबाट आए पुगिहाल्छ नि !’ फेरि त्यस्तै कुरा भयो ।

अन्तर्वार्ताका लागि तारन्तारको फोनपछि सिटौलाले हामीलाई भनेका थिए ‘कतिसँग कुरा गरिसक्ने हो, धेरै ठाउँ आफ्नो कुरा भनिसके ? तै पनि पर्सी आउनुहोला ।’ शुक्रबार निर्धारित समयभन्दा अगाडि नै पुगेको हाम्रो टिमलाई सिटौलाले सुरुमै अनुरोध गरे,‘पार्टी र पार्टी महाधिवेशनको विषयमा म बोल्दिन है ! अरु विषयमा मात्रै कुरा गर्नुहोला ।’ देशका मुख्यमुख्य सहरमा राजावादीको आन्दोलन, पार्टीको १४ औं महाधिवेशन कहिले हुन्छ भन्ने अन्यौलता र सरकारका गतिविधिप्रति बढ्दो असन्तुष्टिकाबीच नेपाली कांग्रेसले सुरु गर्न लागेको आन्दोलन ।

कांग्रेस पूर्व महामन्त्री सिटौलाको व्यस्तता पनि त्यहींअनुसार बढ्दै गएको भान भयो । देशलाई गणतन्त्र र शान्तिको बाटोमा हिँडाउन तत्कालिन समयमा प्रमुख भूमिकामा रहेका पात्रमध्ये एक सिटौलासँग गणतन्त्र र पछिल्लो गतिविधिका कुरा गर्नै प¥यो । पार्टीको १३ औं महाधिवेशनमै आफूलाई पार्टीभित्र बैकल्पिक नेतृत्वको रुपमा उभ्याउन सभापतिमै उम्मेदवारी दिएका सिटौलासंग १४ औं महाधिवेशनको कुरा नगर्दा झन् अन्तर्वार्ता अपुरो हुने डर ।

गणतन्त्र र बढ्दो असन्तुष्टिका विषयबाट संवादको थालनी गर्दा नेता सिटौलाले कम्युनिष्ट नेतृत्वको सरकार र नेताहरुका क्रियाकलाप नै जनआक्रोसको मूलकारण भएको दावी गरे ।

अहिलेको मात्रै होइन गणतन्त्र प्रारम्भदेखि नै विभिन्न समयमा बनेका सरकारको काम, नेताहरुको भूमिकाले त यो अवस्था आयो होला नि ? भन्दा नेता सिटौलाले कम्युनिष्ट पार्टीहरुबाट बनेका सरकार र प्रधानमन्त्रीको नाम लिदै भने ‘धेरै सरकार उहाँहरुकै बने, अहिले पनि झण्डै दुई तिहाईको जनमतसहित उहाँहरु नै सरकारमा हुनुहुन्छ । नेपाली कांग्रेसले पनि राम्रो भूमिका खेल्न सकेको छैन । तथापि हामीले नेतृत्व गरेको बेला परिणाम दिएका छौं (शान्ति, संविधान र संविधान निर्माणपछिको चुनाव) । त्यसैले असन्तुष्टिको परिणाम कम्युनिष्ट पार्टी र सरकार हो ।’

कुराकानीको क्रम अगाडि बढ्दै गयो । नेता सिटौला पनि खुल्दै गए । अहिलेको सरकारका गतिविधिप्रति निकै असन्तुष्टि पोखेका सिटौलाले संसद र सडकमा नेपाली कांग्रेसको भूमिका पनि प्रभावकारी नभएको बताए । गणतन्त्र कमजोर जगमा नबनेको भन्दै उनले राजतन्त्रका पक्षमा भएको सडक प्रदर्शनबाट कोही आत्तिन नहुने तर गणतन्त्रको सबलीकरणका लागि भने धेरै काम गर्नुपर्ने धारणा राखे ।

पार्टीको १४ औं महाधिवेशनको प्रसंग र नेतृत्वको विषयमा आफूले हतारमा केही नभन्ने बताए । उनको भनाई थियो ‘महाधिवेशनको वातावरण नै ठिक देखिरहेको छैन । महाधिवेशन कहिले हुन्छ भन्ने नै नटुंगेर अरु विषयमा के कुरा गर्नु ।’ सिटौलाले अहिलेको नेतृत्वको विकल्पमा थुप्रै सम्भावना देखिएको र महाधिवेशनमा आम कार्यकर्ताले त्यसको मूल्याङ्कनगर्ने विश्वास व्यक्त गरे । कांग्रेस पूर्व महामन्त्री सिटौलासँग अनुप सोनी र हरि भट्टले गरेको संवादको सम्पादीत अंश यहाँ प्रस्तुत गरिएको छ ।

गणतन्त्र आएको एक दशक बितिसकेको छ । तर, जनताले अनुभूत गर्ने गरी प्रतिफल दिन नसकिएको आरोप छ । असन्तुष्टि बढ्दै छ । हिजो केहि सङख्यामा राजा चाहियो भन्नेहरुको भीड आज ठूलो संख्यामा सडकमा देखिन थालिसक्यो । यसलाई तपाईँले कसरी लिनुभएको छ ?

कम्युनिष्ट पार्टीको सरकार बन्यो । संसदमा ठूलै संख्या छ । प्रष्ट बहुमत मात्र होइन झन्डै दुई तिहाईको संख्या छ । तर, सरकारको तीन वर्षको काम कारवाहीको मूल्याङ्कन गर्ने हो भने देश र जनताका लागि उल्लेख्य केहि काम पनि गर्न सकिरहेको छैन । जनताका दैनिक समस्यामा पनि सरकारले कुनै ध्यान दिएको छैन । कोरोना महामारी यताका दिनमा त कोरोना भाइरस संमक्रणबाट बचाउन र महामारीले नराम्ररी प्रभावित जनतालाई बचाउने कुनै ठोस कार्ययोजना ल्याएन । त्यसैले मलाई के लाग्छ भने सरकारको काम कारवाहीबाट असुन्तष्ट मान्छेहरुको जमात दिनप्रतिदिन बढ्दै गएको छ । तिनै असन्तुष्टिको अभिव्यक्तिका रुपमा पनि अहिले भएका सडक प्रदर्शनलाई लिनुपर्छ । र, प्रतिपक्षमा रहेको नेपाली काग्रेस पार्टीले पनि यो तीन वर्षसम्म प्रतिपक्षको भूमिकामा सडकमा जान सकेन । यो पनि एउटा कारण हो । तर, सरकारका गतिविधिका कारण सडकमा पोखिएको असन्तुष्टिलाई गणतन्त्रमाथि नै यति ठूलो प्रश्न उठेको हो भन्ने मलाई लाग्दैन ।

अहिले राजाको ठाउँमा राष्ट्रपति, जनताका प्रतिनिधि, गाउँगाउँमा सिंहदरबार आएको छ । तर, पनि जनअसन्तुष्टि किन त ?

खास गरी २०६४ यता लगभग कम्युनिष्ट पार्टीकै सरकार बन्यो । प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, केपी शर्मा ओली, फरि प्रचण्डको नेतृत्वमा सरकार बने । अहिले ओलीको नेतृत्वमा दोस्रो पटक कम्युनिष्ट पार्टीकै नेतृत्वमा सरकार छ । पहिलो संविधानसभामा उहाँहरुकै नेतृत्व र ठूलो संख्या हुँदाहुँदै पनि संविधान आउन सकेन । त्यतिका दिनमा आर्थिक प्रगति पनि हुनसकेन ।

असन्तुष्टि बढ्नुमा २०६४ यताकै समिक्षा गर्नुपर्ला नि, जहाँ कांग्रेस पनि छ ?

कांग्रेसको बारेमा प्रष्ट भन्छु, यो बीचमा दोस्रो संविधानसभापछि एक ठूलो पार्टी भएर हामीले सरकारको नेतृत्व गर्ने अवसर पायौं । सुशील कोइराला प्रधानमन्त्री बने । उहाँको नेतृत्वमा हामीले नै संविधान दियौं । त्यसपछि त फेरी काग्रेसको सरकार बनेन । पछिल्ला दिनमा चुनावी सरकारमा शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो । उहाँकै नेतृत्वमा चुनाव भयो । काग्रेस पार्टीको नेतृत्वमा सरकार बन्यो, हामीले आफ्नो अभिभारा पुरा गरेको छौं ।

सुशील कोइरालाको पालामा संविधान बनाउने अभिभारा थियो, पछिल्लो पटक शेरबहादुर देउवालाई निर्वाचन सम्पन्न गर्ने अभिभारा थियो । दुबै अभिभारा त नेपाली काग्रेस पार्टीको नेतृत्वको सरकारले पुरा गरेको छ । तर, कम्युनिष्ट पार्टी नेतृत्वको सरकार हुँदाको अवस्था मूल्याङ्कन गर्ने हो भने उहाँहरुले आफ्नो जिम्मेवारी पुरा गर्न सक्नुभएन । विगतको धेरै लामो कुरा कोट्याउनुभन्दा पनि संविधान आइसकेपछि निर्वाचनमार्फत बनेको पहिलो सरकार उहाँहरुकै छ । तर, यसको तीन वर्षको कामकारवाही विश्लेषण गर्दा राष्ट्र र जनताको हितमा काम भइरहेको छैन । यहीं कारण जनतामा असन्तुष्टि बढिरहेको छ ।

देशलाई औपचारिक रुपमा गणतन्त्रको बाटोमा हिँड्ने अवस्था ल्याउँदा तपाईँ पनि मुख्य भूमिकामै हुनुहुन्थ्यो । त्यतिबेला जे सोचेर गणतन्त्र ल्याइयो र अहिले जे भइरहेको छ । यसबाट तपाई उत्साहित हुनुहुन्छ कि चिन्तित ?

सरकारको कामकारवाही हेरेर उत्साहित हुने कुनै ठाउँ छैन । प्रतिपक्षी नेपाली काग्रेसले पनि अहिलेसम्म गरेका भूमिकाबाट सन्तुष्ट हुने ठाउँ छैन । तर, अब नेपाली काग्रेस पार्टी २९ गतेबाट प्रतिपक्षको हैसियतले सडक प्रर्दशन गर्न जाँदै छ । जनताको माझमा रहेर सरकार र उसका क्रियाकलापको विरोध गर्न सडकबाटै गर्ने छौं । अब हामी पार्टीको महाधिवेशनको तयारी र सरकारका गलत कामकारवाहीविरुद्धका गतिविधि एकसाथ अगाडि बढाउछौं । प्रर्दशनलाई जारी राख्छौ ।

अहिलेको सडक प्रदर्शनलाई गणतन्त्रविरुद्धको आन्दोलनका रुपमा लिनु हुँदैन । हाम्रा कमिकम्जोरीहरुलाई सच्याएर गणतन्त्रलाई थप मजबुत् बनाउनुको विकल्प छैन । यसतर्फ सबै सचेत हुनुपर्छ ।

अस्ति मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रविरोधी गतिविधि बढेकोले कसरी अगाडि बढ्ने भनेर सल्लाह माग्न सर्बदलीय बैठक बोलाउनुभयो । त्यहाँ नेताहरुको अभिव्यक्ति र मनोभावना के पाउनु भयो ?

त्यहाँ सत्तारुढ दलको तर्फबाट प्रधानमन्त्रीज्यूले बोल्नुभयो । उहाँले नै टुंग्याउनु भयो । अरु सबै जस्तो नेताहरु उपस्थित त हुनुहुन्थ्यो तर कम्युनिष्टका अरु नेताको कुरा सुन्न पाइएन, बोल्नु पनि भएन । नेपाली काग्रेसलगायत जति पनि अरु दलका नेताहरु उपस्थित थिए सबैले सरकारको एकदमै कडा र तिखो आलोचना गरेका छन् । सबैको चिन्ता सरकारले राम्रो काम नगरेकाले असन्तुष्टी थप बढ्नसक्छ भन्ने मै थियो । हेरौं उहाँहरुले आगामी दिनमा के गर्नुहुन्छ ।

अब नेपाली कांग्रेसको कुरा गरौं, कांग्रेसको अहिलेको अवस्था र भूमिकाका बारेमा केहि भन्नु परेन । आगामी १४ औं महाधिवेशनपछिको कांग्रेसको बारेमा के छ तपाईँको परिकल्पना ? के सोचिरहनु भएको छ ?

प्रतिस्पर्धा हुन्छ । पार्टीभित्र तलदेखि माथिसम्म प्रतिस्पधाबाट जे परिणाम आउछ, त्यसपछि नयाँ ढंगले अगाडि बढ्नुपर्छ । पार्टीभित्र सम्पूर्ण एकता पनि गर्नु छ ।

नेपाली कांग्रेसमा पुनर्जागरणको विषयमा धेरै चर्चा हुने गरेको छ । अहिलेको नेतृत्व र शैलीबाट त्यो सम्भव छैन भन्ने बहस पनि छ । आमरुपमा बलियो विकल्प पनि देखिएको छैन । तपाईले देखिराख्नु भएको छ र ?

आजको देशको राजनीतिक स्थितिमा धेरै ठूलो परिवर्तन छ । व्यवस्थामा नै ठुलो परिवर्तन छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा नेपाल छ । यो राजनीतिक इतिहासमा एउटा ठूलो र महत्वपूर्ण परिवर्तन हो । यो परिवर्तनबमोजिम जनआकांक्षा पुरा गर्ने र आर्थिक प्रगति दिने गरी नेपाली काग्रेस पार्टी पनि आफैभित्र परिवर्तित हुन आवश्यक छ । संरचनागत दृष्टिले १४ औं महाधिवेशनबाट हाम्रो संगठनमा ठूलो परिवर्तन हुँदैछ । संघीय संरचना र समावेशी समानुपातिक प्रतिनिधित्व पनि बढ्दै छ । त्यो हाम्रो वैधानिक व्यवस्था नै भयो । साथै पार्टीभित्र आमूल परिवर्तन हुनुपर्छ भन्ने नेपाली काग्रेसका तमाम् कार्यकर्ताको भावना पनि बुझ्नु छ । त्यसलाई ध्यानमा राखेर कार्यकर्ताहरुले नेतृत्वको मूल्याङ्कन गर्छन् ।

मुख्य कुरा हामीले के बुझ्नुपर्छ भने महाधिवेशन भनेको कार्यकर्ताले नेतृत्वको मूल्याङ्कन गर्ने अवसर हो । मलाई लाग्छ यसपटक कार्यकर्ताहरुले स्वाभिमान, स्वाधिनता र स्वविवेकका साथ आफ्नो नेतृत्व पंतिको मूल्याङ्कन गर्ने छन् र आफ्नो अभिमत प्रकट गरेर पार्टीभित्र आमूल परिवर्तन ल्याउन सफल हुनेछन् । भोली पार्टीमा तलदेखि माथिसम्म प्रतिस्पर्धा हुँदै केन्द्रमा आइपुग्दा त्यसको आधारमा प्रतिस्पर्धामा उठ्ने गरी सबैले आफ्नो टिम र कार्ययोजना ल्याउँछन् । त्यसको आधारमा पनि कार्यकर्ताले मूल्याङ्कन गर्छन् ।

त्यसकारण मुख्य कुरा चाहिँ महाधिवेशन समयमा गर्नु, निष्पक्ष गर्नु र महाधिवेशनको परिणामपछि पार्टीभित्र सम्पूर्ण एकता निर्माण गरेर अगाडि जाने तर्फ हाम्रो सोचाइ अहिलेदेखि नै हुनुपर्छ । मेरो ध्यान त्यसमा केन्द्रित छ । प्रतिस्पर्धामा भाग लिने र प्रतिस्पर्धापछि पनि पार्टीमा सम्पूर्ण एकता गरेर अगाडि जाने मेरो योजना छ ।

तपाईले त १३ औं महाधिवेशनमा नै आफूलाई विकल्पको रुपमा प्रस्तुत गरिसक्नु भएको छ । त्यसको निरन्तरता हुन्छ ?

प्रतिस्पर्धा हुन्छ यति नै भन्दा प्रयाप्त भइहाल्छ नि ।

त्यसका आधार र तयारी के छन् ?

आधारका विषयमा पछि भनुला नि ! बाँकी विकल्पका विषयमा महाधिवेशन प्रतिनिधिले मूल्याङ्कन गर्ने कुरा हुन् ।

धेरैले त विकल्प दिनुपर्छ भन्ने तपाईँहरुबीच नै एकता छैन । त्यही बिग्रहले पुरानै नेतृत्वको निरन्तरता हुन्छ भन्छन् नि ?

महाधिवेशन सुरु नभई मान्छेले आसंका गर्छन् नि ! तर, महाधिवेशन सुरु भएपछि परिवर्तन हुने रहेछ भन्ने बुझिहाल्छन् । यतिबेलाको समय भनेको हामीले महाधिवेशनलाई सम्पन्न गर्ने एउटा विश्वासको वातावरण निर्माण गर्ने हो । काठमाडौंमा देशभरका कुनै पनि जिल्लाबाट क्रियाशील सदस्यताको विवरण आइसकेका छैनन ।

यसैले यति बेलाको दायित्व चाहिँ पार्टीभित्र महाधिवेशन सम्बन्धि कार्यविधि र कार्यतालिकालाई समझदारीबाट बनाएर निष्पक्ष ढङगले महाधिवेशन सम्पन्न गर्ने हो । त्यो दायित्व केन्द्रमा रहने सभापति, पदाधिकारीलगायत हामी सबैको हो । हामीले महाधिवेशशन गर्नको लागि परस्परमा एउटा विश्वासको वातावरण तयार पार्नुपर्छ । महाधिवेशन निष्पक्ष हुन्छ भन्ने सन्देश हामीले दिन सक्नुपर्छ । त्यो वातावरण बनाउन तर्फ लाग्नुपर्छ । यतिबेला मेरो भनाई यत्ति हो ।

महाधिवेशनमा कति वटा समूह बन्ने देख्नुहुन्छ तपाई ?

अहिले त कसरी अनुमान गर्ने ? त्यसवेला नै थाहा हुन्छ नि ! उतिबेला तीन टिम थिए । अहिले पनि तीन÷चार त भइहाल्छन् । बाँकी त पछि मात्रै थाहा हुन्छ ।

अन्त्यमा, नीति र नेतृत्वको कुरा गरिरहँदा महाधिवेशन नै अन्यौलमा छ भन्छन् । कहिले हुन्छ महाधिवेशन ?

आउने वर्षात् मौसम सुरु हुनुभन्दा अगाडि गर्नुपर्छ भन्ने मेरो सुझाव हो । किनकी आउँदो फागुनमा महाधिवेशन सम्भव देखिन्न । कुनै जिल्लाबाट क्रियाशील सदस्यता आएको छैन । यहाँ आएर पनि केन्द्रमा छानविन गर्ने, मतदान अधिकृत्त खटाउने आदि काममा समय लाग्छ ।

तर, आगामी जेष्ठ महिना नकटाइकन महाधिवेशनको कार्यतालिका परिमार्जन गरौं भनेर सभापतिलगायत पदाधिकारी साथीलाई मैले सुझाव दिएको छु । अब पुषमा बैठक बस्छ र त्यसपछि छलफल गरौंला भन्ने सभापतिको भनाई मैले पाएको छु ।

प्रतिक्रिया दिनुहोस्