पहिलो भेट नै अन्तिम बनेपछि…



आजको समय भनेको फेसबुकको हो । सायदै आजको जमानामा फेसबुक नहुने मान्छे भेटाउन असम्भव नै होलाभन्दा फरक नपर्ला । यो फेसबुक भन्ने चिज पनि बडो अचम्मको हुँदो रहेछ । न त चलाउनलाई लाइसेन्स चाहिले न उमेर । बच्चादेखि लिएर बुढासम्मकाले जहाँ जतिबेला मन लाग्यो त्यति बेला जोसँग मन लाग्यो त्यसैसँग बोल्न मिल्ने । मन लागेन भने नबोल्न पनि पाइने । फोटो भिडियो जति पनि पोष्ट गर्न मिल्ने । त्यति मात्र हैन वर्ष–वर्ष दिनमा कुन फोटो कहाँ गएर खिचेको सम्झाइ रहने । झगडा होस् या रमाइलो सबै एकै ठाउँ गर्न मिल्ने । साँच्चै नौ गजबको चीज रैछ यो फेसबुक ।

सायद फेसबुक नहुँदो हो त कतिका लभ नै पर्थेनन् होला । कतिका बिहे नै हुन्थेनन् होला । तर, कतिको बिहे तय भइसको बहुली अर्कै केटाले भगाउँदैन थियो होला । फोसबुककै कारण कतिले दुई तीन जनासँग ‘अफयियर’ चलाउदैंन थिए होला । कतिले मायामा धोका पाएकै कारण ज्यान गुमाउनुपर्ने थिएन होला । फेसबुककै कारणले कसैको घरवास अनि कसैको उठिबास हुँदैन थियो होला । अब यो होलाको कुरा यहि छोडौं ।

अहिले युनिभर्सिटीको परीक्षाभन्दा कठिन परीक्षा हो, प्रेमको । जहाँ अलिकति मात्रै दायाँ बायाँ वा तल माथि भयो भने सम्बन्ध ठाउँको ठाउँ चैट् हुन्छ, त्यो पनि मौका परीक्षामा कहिल्यै भाग लिन नपाउने गरी । प्रेमी अथवा प्रेमीकाहरुले हरेक खालका प्रश्न तयार गरेका हुन्छन्, जतिबेल जुनसुकै समय पनि परीक्षा लिइदिन्छन्, माया गर्छन् कि गर्दैनन् भनेर । आजकाल मात्रै प्रेमको परीक्षा लिइन्छ पनि भन्दिन म किनकी भगवान् शिवले पनि विभिन्न रुप धारण गरी प्रेमको परीक्षा लिएकै थिए । तर, अहिले समयसँगै प्रेमको परीक्षा लिइने तरिकामा परिवर्तन भएको छ । आजकाल फेसबुक, इन्स्टाग्रामको पासवर्ड साटासाट गर्नेदेखि अकाउन्ट नै आफ्नो नियन्त्रणमा लिँदै प्रेमीहरु मायाको जाँच लिइराखेकै हुन्छन् ।

आज म भन्छु एउटा जोडीको विशुद्ध प्रेम कहानी । यसको सुरुवात पनि फेसबुकबाटै भएको थियो । हामी धेरै टाढा थियौं । फेसबुक नै हामो साहारा बनेको थियो । अनलाइन आएर म्यासेज नआउने बिक्तिकै बम सरी पटकिन्थ्यो फेरी एक छिनमा सान्त । हामीबीच अटुट सम्बन्ध थियो । मेरो नजरमा उ संसारकै राम्रो केटा थियो । लाग्थ्यो, संसारमा मेरा आमाबुबाभन्दा पछिको उ नै प्यारो थियो । कहिले कहि अनलाइन आएर पनि म्यासेज नगर्दा शंका पनि लाग्थ्यो । तर, सोध्ने हिम्मत भने थिएन । फेरी एक मनले सोथ्यो, ‘होइन हामो भेट नभए पनि उसको बोलाई, केयरीङ्गबाट पनि त थाहा हुन्छ, उ मनको कति सफा छ । मैले कसरी यस्तो सोच्न सक्छु होला ।’

आफुले आफुलाई सम्झाउथे । पहिलादेखि मसँग गरेका सबै कुरालाई सम्झिन्थे । लाग्थ्यो संसारमा हाम्रोभन्दा राम्रो जोडि अरु कसैको हुँनै सक्दैन । एक दिनको कुरा हो, राति १ बजेसम्म कुरा गरेर सुत्यो । भोलिपल्ट दिनभरी कुरा भएन । मन खिन्न भयो । फोन पनि अफ, अनलाइनमा पनि आएन । उसको साथिहरुसँग बुझ्दा पनि उनीहरुसँग सम्पर्कमा थिएन । एक मनले रिस पनि उठयो, मन खिन्न भयो । के भयो होला ? किन सम्पर्कमा नआएको होला ? बा के भयो की ? मनमा अनेक कुराहरु सलबलाई रह्यो । मनमा कुरा खेलाउनुभन्दा अरु उपाए पनि त मसँग थिएन । फेसबुक खोलेर हेर्छु, अनलाइन आएको छ कि भनेर । आएको छैन । एति लामो म्यासेज पठाइसके न रिप्लाई आउछ ।

रातिको ९ बजिसकेको थियो अझै ‘रिप्लाई’ नआएपछि, शंकाले भरिएको म्यासेज पठाउँछु । त्यसपछि, ‘बल्ल उ अनलाइन आयो, रिससँगै म खुसी भएँ ।’ के गर्दै छौं ? उ प्रश्न गर्छ । आफूले त्यति लामो मेसेज पठाएको छुँ । अनि त्यसको जवाफ चै दिनुछैन । के गर्दै छौ रे ? प्रश्न देखेर टाउको घुम्यो तर केहि बोलिन । हरेक दिन फेसबुकमा बोल्नेहरुसँग पनि कति गाढासम्बन्ध बसेको है हाम्रो । म केहि नबालेपछि ऊ फेरि लेख्छ, ‘मलाई सारै ‘टेन्सन’ भाको छ ।’

गाली गर्न त खुब मन थियो तर, तनावमा भएको मान्छेलाई के गाली गर्नु भनेर आँट गरिन् । ‘के भयो र ?’ प्रश्न गरे । उसको जवाफ ‘मेरो बिहे गर्दिने रे । आज केटी हेर्न गाको ।’ उनले लेख्यो ।ऊसँगको भविष्य अचानक वर्तमानमै तहसनहस भयो, एकैछिनको भूकम्पले लडाएको घर जस्तै । म मौन बस्छु । मोबाइलको स्क्रिन फेरि कोट्याउँदै रिफ्रेस गर्छु । ‘मलाई त्यो केटी मनै परेन के, कस्तो नरामो लाग्यो’ मेसेज पठाइ सकेको रहेछ।’ मभित्र रिस कि डाह भरिएको थियो, पत्तो पाइन् । एक मनले म हुँदाहुँदै कसरी अरु केटी हेर्न जान तयार भएको होला ? अर्कोतर्फ जे होस् मन त परेन छ नि । तर, उसको मनभित्रको कुरा थाहा पाउन सोध्छु, ‘मभन्दा पनि नराम्ररी ?’ ‘तिमी त कति राम्रो राम्रो नि । त्यो त देख्दै रिस उठ्ने खाल्की’, रिप्लाई गर्छ । ‘म नै माग्न आऊँ कि क्या हो ?’ म उत्ताउलो बनेर पोखिएँ । ‘मलाई पाल्न सक्छौं ?’ सोध्छु ।

‘अरे अहिलेका महिलाहरु आफैं सक्षम भइसके । हामो गाँउमा कतिले बूढालाई पालेका छन् । म नि पाल्न सकि हाल्छु नि । तिमी भन न मात्र म बुवाममिलाई लिएर माग्न आउछु । कति केटा मात्र केटी माग्न जान्छन् । अब केटा माग्न केटी जानुपर्छ ।’ म सुरुवात गर्छु । रिस सरिको भारी मन भएपनि ठट्यउलि पारामा भन्छु । त्यसपछि उ बोलेन । मन परेको मान्छे अरुसँग बोल्दा त रिस उठ्छ, अझ अरुलाई नै हेर्न जादा त झन कस्तो होला ? फेसबुक सुनसान छ, तर दिमाग उम्लिरहेको छ, पृथ्वीको गर्भबाट निस्कन खोज्ने लाभा जस्तै । ऊ गइसकेको १० मिनेट देखाउँछ ।बेडमा पल्टिएर गीत ल्यापटपमा घन्काउछु । मन पनि गीतसँगै बगिरहन्छ । आखाँबाट आसु रोकिएको छैन । उसलाई सोध्ने आट पनि छैन । साच्चै उसलाई पनि त टेन्सन भएको होला । यो बेलामा मैले अरु कुरा भने झन् ‘टेनसन’ हुन्छ भनेर चुपचाप बसे । भन्न त धेरै कुरा थियो तर, भनिन् । बस उसको रिप्लाई पर्खेर बसे ।

फेरी एक डेढ घण्टापछि म्यासेज आयो । ‘ओई लाटि साच्चै पत्याको हो ?’ आखा चिम्लिएर हाँसेको एमोजिसहित । म झसँग भए । उसको म्यासेज देखेर । मेरो पुरै दिमाग खालि भयो । कहाँबाट के बोल्ने पतो भएन । म मौन बसे । मनमा अनेक कुरा खेल्न थाले । आज यो केटालाई के भएको छ । घरी के भन्छ घरी के भन्छ। साच्चै केटि हेर्न नगएकै हो त ?, हो भने किन अघि यसो भने को त ? फेरि म्यासेज आयो, ‘लाटि त के गरेर बसेकी ? त हुँदाहुँदै म अर्को केटी हेर्न जान्छु होला त ? मैले त तइले माया गर्छस् कि गर्दैनस्, के गर्छस्, के भन्छस्’ भनेर टेष्ट पो गरेको त।

म मौन छु । उ फेरी भन्छ, ‘ओई म्यासेज रिप्लाई गर न यार । म तेरो रिप्लाईलाई कुरिरहेको छु । त रिसाको हो बन्ठि मसँग । सरि ल । रिप्लाई गरिनस् भने त फेरी म कल गर्छु नि । तलाई थाहा होला नि मेरो बानी ।’ लभको इमोजिसहित । अरे वा मान्छेको दिमागमा के के कुरा खेल्छ होला ? मान्छे दिनभरी कस्तो अवस्थामा बसेको छ थाहा छैन। यो कस्तो तरिका हो ? माया परीक्षा गर्ने ? के तपाईहरु बीच पनि यस्तो परीक्षा हुन्छ ? उसले कहिले पनि यस्तो गरेको थिएन । पहिला भनेको कुरासहि हो कि पछि भनेको कुरा सहि हो । मैले छुट्याउन सकिन । के म्यासेज गरु के भनौं केहि पत्तै भएन । हासेको र लभको इमोजि पठाए ।

कति अच्चम है आफ्नो मन रुइरहेको छ, तर हासेको इमोजि पठाएपछि उसलाई खुसी छ भनेर थाहा हुने । साच्चै इमोजि जस्तै छ है उसले भनेका कुरा । केटि हेर्न गएर मलाई ढाटेको पनि त हुनसक्छ अथवा साच्चै माया गर्छ की गर्दैन भनेर पनि यसो गरेको हुन सक्छ । म भित्र द्वन्द शुरु भयो । कसरी पत्ता लगाउने कुनै उपाए देखिन । म विरामी छु भोली कुरा गर्ने भनेर म्यासेज पठाए र फेसबुक ‘लगआउट’ गरे, तर मनबाट यी कुरा ‘लगआउट’ गर्न सकिन । उसले प्रेमको सुरुवातदेखि नै भन्थ्यो, ‘तिमी धेरै रिसाहा छौ । सानो कुरामा धेरै रिसाउँछौ । यस्तो रिसको सुरमा कुनै दिन मलाई छोड्छौ कि झैं लाग्छ’, म चाहिँ भन्ने गर्थेँ, म हैन तिमी रिसाहा र धेरै जिद्धी छौ ।’ उ के मसँग टाढिन लागे कै हो त ? भोली पल्टदेखि उ नर्मल कुरा गर्न थाल्यो । म पनि केहि नभएझै गरी बोल्थे । कसरी के भन्ने कुनै उपाय भेटेको थिइन्, मैले । मन भारी थियो तर पनि खुसीको नाटक गरिरहे ।

बिस्तारै पहिलाको जस्तै कुरा हुन थाल्यो । त्यसको केहि समयपछि उसले भन्यो, बन्ठि आज म एउटा कुरा माग्छु, दिन्छस् ? मैले भने, ‘के कुरा हो भनन् पहिला अनि पो थाहा हुन्छ त ।’ फेरी उसले भन्यो, ‘नाई पहिला रिसाउदिन, दिन्छु भन अनि । के तलाई मेरो विश्वास लाग्दैन ?’ मैले भने, ‘ल भन के हो म रिसाउदिन प्रमिस ।’

‘मलाई तेरो फेसबुकको पासवर्ड देन ।’ म छक्क परे । प्रेममा सबैभन्दा महत्वपूर्ण आधार नै विश्वास हो । प्रेम विश्वासमै टिकेको हुन्छ । उसले फेसबुकको पासवर्ड माग्नुलाई मैले मप्रतिको अविश्वास झैं लाग्यो । मलाई धेरै रिस उठ्यो । मैले भने, ‘विश्वास छैन भने नबोल, तर म पासवर्ड दिन्नँ । कति साथी र आफन्तसँग पर्सनल कुरा हुन्छ, जुन तिमीलाई म देखाउन सक्दिनँ ।’ तर, उसको जिद्धी गर्ने बानी थियो । जेसुकै होस्, पासवर्ड दिनैपर्छ भन्न थाल्यो । पासवर्ड नदिए ब्रेकअपसम्म हुन सक्ने कुरा उसले गर्यो । पूरै जीवन बिताउने भनेर सोचेको प्रेम नै धरापमा परेपछि पासवर्ड दिए । पासवर्ड दिएपछि चै माया गरेको रे अनि पासवर्ड नदिँदा चै माया नगरेको रे । कस्तो अचम्म । पासवर्ड दिनुपरेकोमा र उसको कुराले चित्त बुझिरहेको थिएन । भित्रभित्रै रिस भरिएको थियो ।

मैले पनि भने, ‘अब तिमीले पनि पासवर्ड दिनुपर्छ । नत्र तिमीले पनि त मलाई माया गर्दैनौ रहेछ ।’ तर उसले मलाई पासवर्ड दिएन । मेरो मन दुख्छरे। रो मन दुख्ने कुरो के थियो, कोसँग गरेको थियो पत्तो भएन । जे जे भने पनि पासवर्ड दिएन । मैले पनि धेरै जिद्धी गरिन् । पछिसँगै जिवन बिताउनु छ, किन जाबो एउटा पासवर्डको लागि सम्बन्ध दुखाउनु भनेर चुपचाप बसे । पछिल्लो समय उ फरक हुँदै गएको थियो। मन भित्र जे जे भएपनि उसँग खुसी साथ बोल्थे । पासवर्ड लिएसँगै मसँग बोल्ने जति सबैलाई ब्लक गरेछ । त्यस्तो धेरै नराम्रो त कोहिसँग केहि बोलेको थिइन् तर खै किन ब्लक गरेको हो बुझन सकिन । मैले सोध्दा त धेरै केटाहरुसँग बोल्दो रहेछस् । मेरो मन दुख्यो त्यहि भएर ब्लक गरे । त मभन्दा अरुसँग बोल्न पाउदैनस् भन्थो । उसले बोलेका कुरा मैले बुझ्न सकिरहेको थिइन् ।

सबै साथिभाईलाई ब्लक गरेको थियो, म कोइसँग बोल्दिन थिए । साथिहरुले फोन गरेर सोथे तर म बिरामी छु भनेर टारिदिन्थे । सबै कुराहरु मेरो कल्पना बाहिर थियो । जसरी हुन्छ मनलाई सान्त पार्ने कोशिस गरिरहेको थिए म । किनकी हामो अटल पेमलाई टुक्राउन चाहादिन थिए म ।

बिस्तारै झगडा हुन थाल्यो हामीबीच । एक पटक भेट्ने कुरा भयो । उसको व्यवहारले एक तिर मेरो मन दुखी रहेको थियो भने अर्को तिर मेरो प्रेमीलाई पहिलो पटक भेट्ने मौका पाउदै थिए । म त्यो मौकालाई गुमाउन चाहदिन थिए । त्यसैले भेट्ने सहमति भयो ।

दुबैलाई पाएक पर्ने ठाउँ धरानमा भेट्ने भयौं । भारी मनसँगै छुट्टै खाल्को खुसी र उमंग लिएर म धरान पुगे । एकै छिनको भेटपछि फर्किने सहमति भएको थियो हाम्रो । उसलाई पहिलो पटक भेटेको, देख्ने बिक्तिकै पहिलाका सबै कुरा भुलि दिए। हामी एउटा रेष्टुडेन्टमा गएर खाजा खादै गफिन थाल्यौ ।

समय बित्दै गयो, मेरो गाडी चडन डेढ घण्टा जति बाकि थियो । अब जाउ बाहिर एक छि बजार घुमौ भने । तर, उसले मानेन् । भन थाल्यो तिमी भोली मात्र घर जानु आज हामीसँगै बस्नुपर्छ। म छकक पर्न थाले, पहिला त उसले एकछिन भेटेपछि फर्किहाल्ने सहमति भएको थियो । छुटिन त मलाई पनि म थिएन तर घरमा कसैलाई थाहा थिएन । बजार गएर आउछु भनेर हिँडेको थियो । जसरी पनि म घर पुग्नु थियो ।

म जसरी पनि जाने भएपछि उसले भन्यो, एक घण्टा जति होटलमा कोठा लिएर बसौ, सेक्सको प्रस्ताव राख्यो । म छागाँबाट खसेजस्तो भए उसले यतिसम्म भन्छ भनेर त कल्पना पनि गरेको थिइन् । मैले मानिन् र रिसाए ।

अनि भने ‘तिमीले यत्तिको लागि प्रेम गरेको हो ?’ ‘हो, मैले सेक्सको लागि प्रेम गरेको हो । तर, सेक्सको लागि मात्रै चाहिँ पनि होइन, सेक्सले प्रेमलाई अझ गाढा बनाउँछ ।’ त्यहि भएर भनेको । तिमीले मसँग सेक्स गरेनौं भने तिमीले मलाई माया नै गर्दैनौं भनेर बुझछु । अरे यो मायाको कस्तो परक्षिा हो ? के मायामा पास हुनका लागि यहि एउटा तरिका हो ? मेले कुरै बुझिन । धेरै समय हाम्रो यसै विषयमा झगडा भइरह्यो ।

अन्त्यमा हाम्रो प्रेमको अन्त्य पनि भयो । त्यसपछि गाडी चडेर म फर्किए । मलाई लगेको थियो, हाम्रो भेट भएसँगै हामीबीच भएको अविश्वास सव खतम हुन्छ र नयाँ अध्याए शुरु हुन्छ । तर, के थाहा मलाई पहिलो भेट नै अन्तिम हुन्छ भनेर । मलाई लागेको पनि थिएन की हाम्रो माया यसरी टुक्रिन्छ । यस्तो पनि हुन्छ मायाको परीक्षा। आँखामा र मनमा हलचल हुनु अस्वभाविक थिएन । तर, रुनुको कुनै खास कारण पनि त थिएन । आफैलाई कठोर बनाएँ, र भने जीवन चल्दै गरेको गाडी हो । मलाई धेरै यात्रा तय गर्नुछ । न उसले फोन म्यासेज गर्ने जमर्को गर्यो न मैले ।

प्रतिक्रिया दिनुहोस्