कमजाेर प्रतिद्वन्दी पाकिस्तानविरुद्ध उत्रँदै नेपाल



काठमाडौं : एफसी यू-१९ च्याम्पियनसिप छनोटअन्तर्गत आइतबार नेपाल र पाकिस्तान भिड्दै छन् । थाइल्याण्डमा जारी प्रतियोगितामा समूहको दुवै खेलमा भारी अन्तरले पराजित पाकिस्तान प्रतियोगिताबाट बाहिरिसकेको छ ।

 

यता नेपाल भने अन्तिम चरणमा छनोट हुने सम्भावना बलियो बनाएर पाकिस्तानको सामना गर्दै छ । नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ३-० ले पराजित भए पनि दोस्रो खेलमा भारतलाई २-० ले पराजित गर्दै छनोट हुने सम्भावना बलियो बनाएको छ ।

 

थाइल्यान्डले दोस्रो खेलमा पाकिस्तानलाई १८-० ले पराजित गरेको थियो । त्यसअघि भारतले पनि पाकिस्तानलाई १८-० ले नै हराएको थियो ।

 

नेपाललाई छनोट हुन पाकिस्तानविरुद्ध जित दर्ता गर्नु पर्नेछ । भारत र थाईल्यान्डको खेलमा घरेलु टोलीले भारतलाई पराजित गरे नेपाल अन्तिम चरणमा छनोट हुनेछ ।

 

नेपाल र पाकिस्तानबीच अघिल्लो महिना पनि खेल भएको थियो । भुटानमा भएको यू-१८ साफ च्याम्पियनसिपमा नेपालले पाकिस्तानलाई १२-० ले पराजित गरेको थियो । नेपाली टोलीलाई यस खेलमा फरवार्ड रेखा पौडेलको साथ भने हुने छैन । लगातार दुई खेलमा पहेंलो कार्ड पाएका कारण उनले खेल्न नपाउने भएकी हुन् । उनले यसअघि भारतविरुद्धको खेलमा दुवै गोल गरेकी थिइन् । पाकिस्तानविरुद्ध १२-० को जितमा पनि ७ गोल उनको नाममा थियो ।

 

खेल नेपाली समयानुसार दिउँसो २:४५ बजे चोनबुरी रंगशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्