थप ८३० जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा थप ८३० जना कोरोना संक्रमित थपिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थपिएका कोरोना संक्रमितसहित कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको जनाएको छ । ५ हजार १८० स्वाब नमूना परीक्षण गराउँदा ८३० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा १५ सय डिस्चार्ज भएका छन् । योसहित कोरोना जित्नेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निको हुनेको दर ९४.९ प्रतिशत हो ।

देशभर सक्रिय संक्रमितको संख्या भने १० हजार ९९४ रहेको छ ।

पछिल्लो २४ घण्टामा ९ जना व्यक्तिको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १६ सय ९८ पुगेको छ ।

यस्तै अहिले ५१६ जना क्वारेन्टिन र १० हजार ९९४ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। कोरोनाका गम्भीर २९४ जनाको आइसीयूमा र ५२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित : मंसिर २८, २०७७

प्रतिक्रिया दिनुहोस्