चिनी मिल मात्र होइन्, सरकारले पनि ठगे उखु किसानलाई



काठमाडौं : ‘सानो छ खेत सानो छ बारी सानै छ जहान, सानो छ देश, ठूलो छ सरकार, अटेन किसान’ यो नारा किसानका लागि कुनै सुन्दर सिर्जना होइन, न त कुनै सुन्दर कविता नै हो, यो त कुरुप वास्तविकता हो ।

बक्यौता रकम भुक्तानीको माग गर्दै आइतबारदेखि संघीय राजधानी काठमाडौंको माइतीघर मण्डलामा उखु किसानले पुनः आन्दोलन शुरु गरेका छन् ।

यस्तै आन्दोलन गत वर्ष पुसमा पनि भएको थियो । तराईका विभिन्न जिल्लाबाट वर्षभरी आफूले उत्पादन गरी बिक्री गरेको उखुको मूल्य लिन उनीहरुले गत वर्ष पनि काठमाडौंमा करिब तीन हप्ता आन्दोलन गरे ।

पुस १८ गते उखु किसान र सरकारबीच पाँच बुँदे सहमति भयो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको पहलमा भएको २०७६ माघ ७ गतेभित्र भुक्तानी गरिसक्ने सहमति भएको थियो । तर, सरकारसँग भएको सहमति एक वर्ष बित्न लाग्दा पनि कार्यान्वयन नभएपछि उखु किसान पुनः रकम भुक्तानी माग गर्दै काठमाडौं आएर आन्दोलन शुरु गरेका हुन ।

यस वर्षको चिसो शुरु भइसकेको छ । काठमाडौं उपत्यकासहित देशभर पनि चिसो बढ्दै छ । यहि बीचमा गत वर्ष पुस १८ गते नेपाल सरकारसँग भएको सम्झौता लागू गर भन्दौ आन्दोलन चर्काउने उनीहरुको कार्यक्रम छ ।

उखु बेचेको पैसा माग्दा माग्दा किसान हैरान भए । तर, सरकार सुने पनि नसुने झै गरी कानमा तेल हालेर बसिरहेको छ ।

शनिबार काठमाडौं आइपुगेका उखु किसानहरुले पाउनुपर्ने सबै रकम बोकेर मात्र घर जाने उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले बताए ।

त्यसो त आइतबारदेखि शुरु भएको आन्दोलनका लागि देशभरबाट एक हजार उखु किसान संघीय राजधानी काठमाडौं आउँदै छन् । पहिलो चरणमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने उनीहरुको योजना छ ।

यस अघि कात्तिक २३ गते काठमाडौं आएका उनीहरुहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

मन्त्रीलाई भेटेको भोलिपल्ट उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेका थिए । कात्तिक २४ गते राष्ट्रपति भण्डारीलाई भेटेर ज्ञपानपत्र बुझाउँदै उखु किसानहरुले वर्षौदेखि नपाएको बक्यौता रकम पाउने व्यवस्था मिलाइ दिन आग्रह गरेका थिए ।

राष्ट्रपति भण्डारीले ज्ञापनपत्र बुझ्दै यसबारे पहल गर्ने बताएकी थिइन् । तर, यस बीचमा राष्ट्रपति भण्डारीले पहल गरिन् वा गरिनन् त्यो उनैलाई थाहा होला ।

नगदे बालीका रुपमा परिचित उखु खेती गर्ने किसानलाई बर्सेनि चिनी मिल सञ्चालकले त झुलाउँदै आएछ, यता सरकारले पनि पटक–पटक झुक्याउन गरेको छ । किसानको बक्यौता रकम ९० करोड पुगिसकेको छ । तर, उद्योगीहरुले बक्यौता तिर्नको सट्टा उद्योग बन्द गरेर दुःख दिन थालेकाले पुनः आन्दोलन गर्नु परेको उनीहरुले बताए ।

गत वर्ष जाडोमा माइतीघर भण्डलामा गरेको आन्दोलन गरेको सम्झँदै सर्लाही गौडैता नगरपालिका सिसौटाका किसान रामविलास महतोले यो वर्ष पैसा लिएरै गाउँ फर्कने बताए ।

उनले भने–‘अब आश्वासन होइन, पैसा लिएर मात्र घर फर्किन्छौं ।’

देशभर सञ्चालित १३ चिनी मिलमध्ये ६ वटाले भुक्तानी नदिएर दुःख दिएको किसानहरूको गुनासो छ । सबैभन्दा बढी ३५ करोड रुपैयाँ बक्यौता रहेको रौतहटको श्रीराम सुगर मिल बन्द छ । सो मिलको चल–अचल सम्पत्ति बिक्री गरेर किसानलाई भुक्तानी दिने प्रक्रिया अघि बढाइएको छ । त्यस्तै, सर्लाहीको अन्नपूर्ण सुगर मिलले ३० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । सो उद्योग २०७१ मा स्थापना भएको र सोही वर्षदेखिको बक्यौता बाँकी छ ।

सर्लाहीकै गोडैता नगरपालिकामा रहेको महालक्ष्मी सुगर मिलको ६ करोड बक्यौता छ  । यो मिलले न्यूनतम समर्थन मूल्यभन्दा प्रतिक्विन्टल ३६ रुपैयाँ कम भुक्तानी दिएर किसानलाई ठगेको छ । सरकारी कार्यालयमा सबै रकम भुक्तानी दिएको दाबी मिल प्रशासनले गरेको छ ।

त्यस्तै, नवलपरासीको लुम्बिनी चिनी मिलले १० करोड भुक्तानी दिन बाँकी छ । सो मिलका उद्योगी मनीष अग्रवालले सरकारबाट लिजमा लिएर सञ्चालन गरेका थिए । दुई वर्षअघि उनको निधन भएयता भुक्तानीमा समस्या देखिएको हो । अहिले मिल सुनीता गोयलले सञ्चालन गर्दै आए पनि भुक्तानी दिन आनाकानी गर्दै आएकी छन् ।

नवलपरासीकै इन्दिरा सुगर मिलले ८ करोड र बागमती खाँडसरी मिलले ४० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको किसानहरूले बताएका छन् ।

यता उखु किसानहरुले पुरानो सम्झौता नै कार्यान्वयन नभएको भनेर आन्दोलन घोषणा गरेका बेला सरकारले भने उखुको न्यूनतम समर्थन मूल्य तोकेको खबर बाहिर आएको छ ।

गत बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिक्विन्टल उखुको ५४४ रुपैयाँ ३३ पैसा मूल्य तोकेको छ । गत वर्ष यो मूल्य प्रतिक्विन्टल ५३४ रुपैयाँ ५६ पैसा रहेको थियो ।

सरकारले तोकेको नयाँ समर्थन मूल्यमा पनि किसानहरुले आपत्ति जनाएका छन् । संघर्ष समितिका सचिव राय पनि अहिलेको आन्दोलमा अब यो माग पनि जोडिने बताउँछन् ।

उनीहरुले भनिरहेका छन्–‘श्रम, पसिनाको मूल्य पाउ, पेट छ खालि परिवार भोगले हा–हा कार !! घर छ टाढा छैन भाडा, हामी किसानको दुःख बुझिदेउ हे सरकार !!’

यो पनि

‘अब सिंहदरबार घेर्छाै र निर्णायक आन्दोलन गर्छाै’

उखु किसान राष्ट्रपति कार्यालयमा

पुसको कठ्याङ्ग्रिदो चिसोमा न त लगाउने लुगा छ, न खाने र बासको ठेगान

उखु किसानको समस्या जस्ताको तस्तै, आइतबारदेखि पुनः आन्दोलन गर्ने

प्रकाशित : मंसिर २८, २०७७

प्रतिक्रिया दिनुहोस्