नुवाकोटमा निर्माणाधीन कारागार सञ्चालनमा अाउँदै



काठमाडौँ : केन्द्रीय कारागार स्थानान्तरण गर्ने उद्देश्यसहित नुवाकोटमा निर्माणाधीन कारागार चालु आर्थिक वर्षको अन्त्यदेखि नै सञ्चालनमा आउने भएको छ ।

 

कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले नुवाकोटको त्रिशूलीमा एक हजार पाँच सय जना रहन सक्ने क्षमताको कारागार रहने जानकारी दिए ।एउटा पुरुष ब्लक निर्माण कार्य असारसम्म सम्पन्न भई सञ्चालनमा आउने उनले जानकारी दिए ।

 

नुवाकोटको त्रिशूलीमा ५३९ रोपनी क्षेत्रफलमा सात हजार कैदी क्षमताको केन्द्रीय कारागार बनाउने लक्ष्यअनुसार निर्माण भइरहेको कारागारमा एक हजार पाँच सय जना रहने क्षमताको चार वटा पुरुष ब्लक र एक हजार जना क्षमताको एउटा महिला ब्लक गरी जम्मा पाँच वटा ब्लक निर्माण गरिने जानकारी महानिर्देशक मैनालीले दिए ।

 

विसं २०७० चैत २० को मन्त्रिपरिषद्को बैठकले काठमाडौँस्थित केन्द्रीय कारागारलाई नुवाकोटमा स्थानन्तरण गर्ने निर्णय गरेको थियो । निर्माणाधीन उक्त कारागारमा काठमाडौँस्थित केन्द्रीय कारागारका कैदीलाई सारिने योजना रहेको जानकारी मैनालीले दिए ।

 

कारागार निर्माणका लागि ५ सय ३९ रोपनी जग्गा कारागार व्यवस्थापन विभागको नाममा स्वामित्व हस्तान्तरण भइसकेको छ । अाजकाे गाेरखापत्रमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्