काँग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गर्दै



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दैछ ।

तनहुँमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेमाथि दुर्व्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरबाहीको विरोधमा आज काँग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो ।

काँग्रेस सभापति शेरबहादुर देउवाले देशभर हुने प्रदर्शन विशेष रूपले महत्वपूर्ण भएको भन्दै सक्रिय सहभागिताका लागि पार्टीका सम्पूर्ण सदस्य, समर्थक र शुभचिन्तकसँगै सबै लोकतन्त्र पक्षधरलाई आह्वान गरेका छन् ।

सभापति देउवाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीका समयमा प्रदर्शनमा भौतिक दूरी राख्न तथा मास्क प्रयोग गर्नरगराउन भनेका छन् ।

‘लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्रमार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वाभाविक हक हो’, उनले भनेका छन्, ‘अतः नेपाली काँग्रेसले सडकदेखि संसद्सम्म अब सरकारलाई तीव्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर सशक्त ढंगले अघि बढ्नु छ ।’

‘जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ्य सामग्रीमा समेत भ्रष्टाचार भएको घटनाभन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुन सक्छ ? शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकमार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ ?’, देउवाको प्रश्न छ, ‘महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुँदा विकसित देशमा पनि यस्तै हुन्छ भन्ने जवाफभन्दा गैरजिम्मेवार जवाफ के हुन सक्छ ? कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्दा सरकारसँग कुनै भविष्य दृष्टि नहुनु भन्दा अर्को सोच शून्यता के हुन सक्छ ?’

मंसिर २५ गते बसेको पूर्व र वर्तमान पदाधिकारीको बैठकले सोमबारको प्रदर्शनपछि सरकारविरुद्ध काठमाडौंकेन्द्रित आन्दोलन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्